पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान

काठमाडौँ । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ ।
गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा लुइँटेललाई नगद २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो । हिमालयन टेलिभिजनमा कार्यक्रम प्रस्तोता तथा रेडियो अन्नपूर्णमा समाचार प्रमुखका रूपमा कार्यरत लुइँटेललाई पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताए । पत्रकारिता पृष्ठभूमिबाटै कार्यकारी भूमिकामा पुगेकाले सञ्चार क्षेत्रको उन्नयनमा आफू निरन्तर चिन्तनशील रहेको उनको भनाइ थियो ।
सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमार्फत पत्रकारितालाई बलियो कानुनी आधार प्रदान गर्न काम गरिरहेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले राज्यको नियमनसँगै पत्रकारिताले पनि राज्यलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले तीव्र प्रविधि विकासलाई राज्यले प्रणालीगत रूपमा व्यवस्थित गर्नुपर्ने बताए । आफूलाई ‘युट्युबे विश्लेषक’ भनिने गरेको प्रसंग कोट्याउँदै उनले ठूला मिडिया हाउससमेत युट्युबमा केन्द्रित भइरहेकाले यसलाई सञ्चारमाध्यमका रूपमा विकास गर्न स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे ।
त्यस्तै, गिद्दे प्रेस एचडीका सम्पादक ठाकुर बेलवासेले पत्रकारिताको परम्परागत शैलीमा नवीनता ल्याउने उद्देश्यले संस्था सुरु गरिएको बताउँदै युट्युबलाई सञ्चारमाध्यमका रूपमा स्वीकार गर्ने नीति निर्माणमा ढिलाइ भइरहेको प्रति राज्यको ध्यानाकर्षण गराए ।
पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार लुइँटेलले सम्मानले खुसीसँगै थप जिम्मेवारीबोध गराएको बताए । पत्रकारितामा चर्चाको शिखर र बदनामीको गहिराइ दुवै अवस्थाबाट जोगिएर सन्तुलित र निरन्तर कर्ममा लागिरहने उनले प्रतिबद्धता जनाए ।
साथै, गुटेनबर्गको छापाखानादेखि मोबाइल पत्रकारितासम्म आइपुग्दा स्वरूप बदलिएको चर्चा गर्दै लुइँटेलले कृत्रिम बुद्धिमत्ता (एआई) को अत्यधिक प्रयोगले पत्रकारको सिर्जनशीलता र बौद्धिक क्षमतामा असर पार्न सक्ने चिन्ता व्यक्त गरे । एआईको उचित प्रयोग र नियमनबारे समयमै बहस आवश्यक रहेको उनको सुझाव थियो ।





