नेपाली र भारतीय सेनाबिच संयुक्त अभ्यास ‘सूर्यकिरण’ को २० औँ संस्करण सुरु

रुपन्देही । नेपाली सेना र भारतीय सेनाबिच सञ्चालन हुँदै आएको प्रतिष्ठित संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ को २० औँ संस्करण आजबाट औपचारिक रूपमा सुरु भएको छ ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासको शुभारम्भ श्री मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्ण बहादुर खत्रीले गरेका हुन् ।
दुवै देशका गण स्तरको फौज सम्मिलित यो संयुक्त तालिम अभ्यास आगामी मंसिर २२ गते सम्पन्न हुने कार्यक्रम तय गरिएको छ । विसं २०६७ सालदेखि नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो प्रणालीअनुसार सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यासको १९ औँ संस्करण यसअघि मित्रराष्ट्र भारतको पिथौरागढमा सफलतापूर्वक सम्पन्न भएको थियो ।
सञ्चालन भइरहेको २० औँ संस्करणको अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहायता लगायतका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित रहेर दुवै देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक तथा विशेष अनुभवहरूको आदानप्रदान गर्नेछन् । प्राकृतिक प्रकोप तथा आपत्कालीन अवस्थाहरूमा संयुक्त रूपमा परिचालन हुन र जटिल भौगोलिक अवस्थाहरूमा सामना गर्न आवश्यक सीप तथा रणनीतिलाई अझ परिष्कृत बनाउन यो तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।
यस्ता संयुक्त सैनिक अभ्यासले दुई देशबिच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण, ऐतिहासिक तथा पारस्परिक सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने विश्वास लिइएको छ । साथै, अभ्यासका माध्यमबाट दुवै देशका सेनाका सकलदर्जामा पेशागत ज्ञानको विकास, कार्यशैलीको बुझाइ र आपसी समझदारीमा थप अभिवृद्धि हुने नेपाली सेनाले जनाएको छ ।
क्षेत्रीय सुरक्षा, मानवीय सहयोग र द्विपक्षीय सैन्य सहकार्यलाई थप बलियो बनाउने दिशामा यो अभ्यासलाई महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।





