२९ खर्ब ७५ अर्ब नाघ्यो सार्वजनिक ऋण, चार महिनामै साँवा–ब्याजमा १ खर्ब ४० अर्ब स्वाहा !

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०८ प्रतिशत हो । आर्थिक वर्षको सुरुआतमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको कुल सार्वजनिक ऋण विनिमय दरमा भएको लाभसहित केही घटेको देखिएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो । ऋण परिचालनको लक्ष्यमा आन्तरिकतर्फ ४ खर्ब १० अर्ब र वैदेशिकतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेकामा कात्तिकसम्म आन्तरिक ऋणबाट १ खर्ब २५ अर्ब (३०.४९ प्रतिशत) र वैदेशिक ऋणबाट २८ अर्ब ८४ करोड रुपैयाँ (११.६२ प्रतिशत) परिचालन भएको छ ।
प्राप्त कुल ऋणमा आन्तरिक हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक हिस्सा १८.७५ प्रतिशत छ । चालु आवको बाँकी अवधिमा अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ ऋण उठाउन बाँकी रहेको छ, जसमा आन्तरिकतर्फ २ खर्ब ८५ अर्ब र वैदेशिकतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्नुपर्नेछ ।
यता, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चालु आवमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म ३३.७३ प्रतिशत अर्थात् १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । यो जिडिपीको २.१४ प्रतिशत हो ।
कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख (साँवा ९९ अर्ब ९४ करोड र ब्याज १९ अर्ब २४ करोड ८२ लाख) तथा वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ (साँवा १७ अर्ब ३८ करोड र ब्याज ४ अर्ब ३६ करोड ७९ लाख) खर्च भएको कार्यालयले जनाएको छ ।
वैदेशिक ऋणको तुलनामा आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीको चाप बढी देखिएको छ, जसले आगामी महिनामा बजेट व्यवस्थापन र ऋण परिचालनमा सन्तुलन कायम गर्नुपर्ने चुनौती देखाएको छ ।





