कोशी प्रदेश प्रमुखको पद दुई सातादेखि रिक्त : नियुक्ति प्रक्रिया अझै अनिश्चित, कार्यवाहकको निर्णय पनि भएन

विराटनगर । पर्शुराम खापुङको पाँचवर्षे कार्यकाल सकिएको दुई साताभन्दा बढी बितिसक्दा पनि कोशी प्रदेशले नयाँ प्रदेश प्रमुख पाएको छैन ।
खापुङ २३ कात्तिकमा पदावधि पूरा गरी बिदा भएसँगै पद रिक्त भए पनि नयाँ नियुक्तिको प्रक्रिया कहिले टुंगिन्छ भन्ने स्पष्ट भएको छैन । प्रदेश प्रमुखको कार्यालय कोशीकी शाखा अधिकृत सम्पूर्ण थापाका अनुसार पद रिक्त रहे पनि अर्को प्रदेशका प्रमुखलाई कोशीको कामकाज तोक्नेबारे राष्ट्रपतिबाट निर्णय भएको जानकारी कार्यालयमा आएको छैन ।
संविधानको धारा १६३ को उपधारा (३) मा प्रदेश प्रमुखको पदावधि पाँच वर्ष रहने र धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदावधि सकिएपछि पद रिक्त हुने व्यवस्था छ । पद रिक्त हुँदा धारा १६५ को उपधारा (२) अनुसार अर्को प्रदेशका प्रमुखलाई कामकाज तोक्न सकिने संवैधानिक व्यवस्था रहे पनि हालसम्म त्यस्तो कदम चालिएको छैन । यसअघि साउन २०८२ मा खापुङ मलेसिया भ्रमणमा जाँदा तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशीको कार्यभार दिइएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ ।
नियुक्तिमा ढिलाइ हुँदा प्रदेश सभाको अधिवेशन आह्वान तथा अन्त्य, विधेयक प्रमाणीकरण र मुख्यमन्त्री नियुक्तिजस्ता संवैधानिक प्रक्रियामा औपचारिक नेतृत्वको अभाव हुन सक्ने देखिन्छ ।
यसैबिच, नियुक्ति विषय राजनीतिक परामर्शमा अघि बढेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । पार्टीभित्र आदिवासी समुदायको प्रतिनिधित्वलाई आलंकारिक रूपमा सम्बोधन गर्ने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।
चाडपर्व, पार्टीका महामन्त्रीसहितको टोलीको चीन भ्रमण तथा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत कारणले निर्णयमा ढिलाइ भएको नेताहरूको भनाइ छ । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले संविधान, ऐन र कानुनसँग नबाझिने गरी परामर्श र समन्वय जारी रहेको तथा सरकारले यसलाई प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएपछि विषय टुंग्याउन प्रदेश समितिले केन्द्रलाई आग्रह गरे पनि मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णय बाँकी रहेकाले नियुक्तिको यकिन मिति निश्चित भइसकेको छैन ।





