बुधबार मंसिर ९, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

हर्मुज जलमार्ग क्षेत्रमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

हर्मुज जलमार्ग क्षेत्रमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
हर्मुज जलमार्ग क्षेत्रमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी · चासो अनलाइन

तेहरान । इरानी सेनाले रणनीतिक रूपले महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमाथि उडिरहेका दुईवटा अमेरिकी मानवरहित हवाई यान (ड्रोन) खसालेको दाबी गरेको छ ।

इरानी सरकारी टेलिभिजन आईआरआईबीका अनुसार वायु रक्षा प्रणालीमार्फत जलमार्गको पश्चिमी आकाशमा अमेरिकी ‘लुकास’ आत्मघाती ड्रोन र पूर्वी आकाशमा ‘एमक्यू–९’ ड्रोनलाई नष्ट गरिएको हो ।

अमेरिका र इरानबिच सैन्य तथा आर्थिक तनाव चर्किरहेका बेला यो दाबी सार्वजनिक भएको हो । अमेरिकाले इरानी वित्तीय सञ्जाललाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेलगत्तै इरानका तर्फबाट कडा प्रतिक्रिया आएको छ । इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले जलसेना नाकाबन्दी लगाउने अमेरिकी योजनालाई ‘भ्रमपूर्ण र निरर्थक’ को संज्ञा दिँदै इरानले अमेरिकाका हरेक कदमको जवाफ दिने बताएका छन् ।

यसैगरी, इरानी सांसद इब्राहिम अजिजीले पनि प्रतिबन्ध र नाकाबन्दीको युग समाप्त भइसकेको टिप्पणी गरेका छन् । यसअघि नोभेम्बर १४ मा समेत केश्म टापुमाथि अमेरिकी ‘एमक्यू–१’ ड्रोन खसालेको इरानले दाबी गरेको थियो । लगातारका यस्ता दाबी र प्रतिबन्धका कारण खाडी क्षेत्रको सुरक्षा संवेदनशीलता थप बढेको छ ।