बुधबार मंसिर ९, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

विदेशी अन्तरिक्ष यात्रीसहित चीनद्वारा ‘शेन्झाउ–२४’ सफलतापूर्वक प्रक्षेपण

विदेशी अन्तरिक्ष यात्रीसहित चीनद्वारा ‘शेन्झाउ–२४’ सफलतापूर्वक प्रक्षेपण
विदेशी अन्तरिक्ष यात्रीसहित चीनद्वारा ‘शेन्झाउ–२४’ सफलतापूर्वक प्रक्षेपण · चासो अनलाइन

बेइजिङ । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन सदस्यीय चालकदलसहितको ‘शेन्झाउ–२४’ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

बुधबार उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको उक्त अन्तरिक्षयान निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । दुई चिनियाँ र एक पाकिस्तानी अन्तरिक्ष यात्री सम्मिलित यो संयुक्त उडान चीनको मानव अन्तरिक्ष कार्यक्रमकै ऐतिहासिक कोसेढुङ्गा तथा चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

अभियानमा ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सहभागी छन् । अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि नै दुई पटक अन्तरिक्षमा पुगिसकेका अनुभवी यात्री हुन् । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबिच भएको सम्झौताको हिस्साका रूपमा यो उडान सम्पन्न भएको हो ।

अभियानका क्रममा पाकिस्तानी अन्तरिक्ष यात्री अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नेछन् र उनी ‘शेन्झाउ–२३’ अन्तरिक्षयानमार्फत पृथ्वी फर्कने कार्यक्रम रहेको छ ।

यस ऐतिहासिक अभियानलाई लिएर पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले दुई देशबिच अन्तरिक्ष क्षेत्रमा थप सहकार्यको नयाँ ढोका खुलेको विश्वास व्यक्त गरेका छन् ।

उनले पाकिस्तानी अन्तरिक्ष यात्रीले देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षालाई अन्तरिक्षमा पुर्‍याएको उल्लेख गरेका छन् ।अन्तरिक्ष अभियानका क्रममा चालकदलले ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछन् ।

एकातिर चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने महत्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ भने अर्कोतिर अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाइरहेको सन्दर्भमा यो प्रक्षेपणलाई विश्व अन्तरिक्ष दौडको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।