ग्यास आपूर्ति सहज बनाउन निगमको कडा निर्देशन : आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगीलाई ताकेता

काठमाडौँ । आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज, सुलभ र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले देशभरका एलपी ग्यास उद्योगहरूलाई विशेष निर्देशन जारी गरेको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले मिति २०८३ मङ्सिर ८ गते परिपत्र जारी गर्दै आयातदेखि भण्डारण र बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगहरूलाई ताकेता गरेको हो ।
बजारमा ग्यासको अभाव हुन नदिन र आपूर्ति प्रणालीलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन निगमले मुख्यतः तीनवटा क्षेत्र— आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरण सहजतालाई एकीकृत रूपमा परिचालन गर्न भनेको छ । जसअन्तर्गत, बजारको विद्यमान मागअनुसार एलपी ग्यासको आयात अधिकतम रूपमा बढाउन तथा सीमा नाका र भन्सार विन्दुमा रोकिएका ग्यास बुलेटहरू समयमै छुटाएर तत्काल आपूर्ति प्रणालीमा ल्याउन उद्योगहरूलाई निर्देशन दिइएको छ ।
यसैगरी, उद्योगहरूसँग रहेका भण्डारण ट्याङ्कीहरूको क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त मात्रामा ग्यास मौज्दात (स्टक) राख्न निगमले निर्देश गरेको छ, जसले आकस्मिक अवस्थामा समेत बजार सन्तुलन कायम राख्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, ग्यास विक्रेता (डिलर) तथा बजारमा रहेका खाली सिलिन्डरहरू पूर्ण क्षमतामा रिफिल गरी उपभोक्ताको भान्सासम्म नियमित रूपमा ग्यास पुर्याउने व्यवस्था मिलाउनसमेत उद्योगीहरूलाई भनिएको छ ।
सरकारको मुख्य प्राथमिकता ग्यासको आपूर्ति शृङ्खलामा कुनै पनि किसिमको अवरोध आउन नदिई नागरिकलाई सहज सेवा दिनु रहेको निगमले स्पष्ट पारेको छ । आयात, भण्डारण र वितरणबिच प्रभावकारी समन्वय कायम भएमा बजारमा ग्यासको आपूर्ति व्यवस्थापन थप चुस्त हुने अपेक्षा गरिएको छ ।
यसैबिच, निगमले आम उपभोक्तालाई समेत संयमित रहन अपिल गर्दै आफ्नो दैनिक आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक त्रास वा हल्लाको पछि लागेर घरमा अतिरिक्त सिलिन्डर सञ्चिति (होर्डिङ) नगर्न अनुरोध गरेको छ ।
साथै, बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने जस्ता अवाञ्छित गतिविधिमा संलग्न नहुन र त्यसो गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।





