दानबहादुर कार्कीलाई तत्काल पुर्नबहाली गर्न सर्वोच्चको अस्वीकार, मनोज केसीलाई आईजीपीमा काम गर्न बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई तत्काल पुनरबहाली गर्न अस्वीकार गरेको छ ।
बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गर्दै न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
आईजीपीमा मनोज केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी नभएसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म केसीलाई प्रहरी महानिरीक्षकका रूपमा काम गर्न बाटो खुला भएको छ । अन्तरिम आदेश नआएपछि केसीले नै निरन्तरता पाउने भएका छन् ।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यसैदिन दर्ज्यानी चिह्न लगाएर केसीले पदभार ग्रहण गर्दै काम थालेका थिए । तर, आफूलाई गैरकानुनी रूपमा हटाएर पदबाट हटाइएको दाबी गर्दै कार्की कात्तिक २० गते रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।
उक्त रिटमा गत मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । त्यतिबेला पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नुअघि दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको भन्दै मंसिर ७ गतेका लागि पेसी तोकेको थियो । तर, मंसिर ७ गतेसम्म पनि आईजीपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेपछि त्यस दिन सुनुवाइ हुन सकेको थिएन ।
मंसिर ७ गते न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिए पनि सुनुवाइ अघि बढ्न सकेन । दुई दिनपछि धकेलिएर बुधबार दुवै पक्षबिच छलफल र सुनुवाइ हुँदा संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै केसीले नै निरन्तरता पाउने गरी आदेश गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशसँगै प्रहरी नेतृत्वको विवाद तत्कालका लागि मनोज केसीकै पक्षमा मोडिएको छ । अब कार्कीलाई हटाउने तथा केसीलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय बदर हुने वा सदर हुने भन्ने विषय मुद्दाको पूर्ण सुनुवाइपछि आउने अन्तिम फैसलाले मात्र टुंगो लगाउनेछ ।






