मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

के हो मलेसिया प्रकरण ? श्रमिकबाट अर्बौँ असुली, पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानमा

के हो मलेसिया प्रकरण ? श्रमिकबाट अर्बौँ असुली, पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानमा
के हो मलेसिया प्रकरण ? श्रमिकबाट अर्बौँ असुली, पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानमा · चासो अनलाइन

काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गरी अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणले राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्रीसहित श्रम मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूलाई पक्राउ गरेपछि वर्षौँदेखि चल्दै आएको भनिएको सिन्डिकेट र श्रमिक ठगीको विषय पुनः चर्चामा आएको हो।

यस प्रकरणमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव तथा अन्य कर्मचारी पक्राउ परेका छन्। पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने श्रमिकबाट विभिन्न सेवाका नाममा करिब साढे दुई अर्ब रुपैयाँ संकलन गरिएको र त्यसमध्ये करिब १ अर्ब ७९ करोड रुपैयाँ विदेशी मुद्राका रूपमा मलेसिया पठाइएको आशंका छ।

कसरी सुरु भयो श्रमिकबाट अतिरिक्त शुल्क असुल्ने क्रम ?

मलेसिया जाने श्रमिकमाथि अतिरिक्त शुल्क असुल्ने अभ्यासको सुरुवात सन् २०१३ अर्थात् २०७० सालतिर भएको थियो। भीएलएन नामक संस्थाबाट सुरु भएको प्रक्रिया पछि जीएसजी, माइग्राम्स, बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था र ओएससी (वन स्टेप सेन्टर) सम्म विस्तार भयो।

यी संस्थाले स्वास्थ्य परीक्षण, भिसा स्ट्याम्पिङ, सुरक्षा जाँच र अनलाइन दर्ताका नाममा प्रतिश्रमिक १८ हजार ६ सय रुपैयाँसम्म असुल्ने गरेको अनुसन्धानमा देखिएको छ। जबकि सरकारले स्वास्थ्य परीक्षणका लागि अधिकतम ४ हजार ५०० रुपैयाँ र भिसा शुल्कका लागि ७०० रुपैयाँ मात्र तोकेको थियो।

माइग्राम्समा दर्ता हुन प्रत्येक श्रमिकले १२५ मलेसियन रिंगिट तिर्नुपर्ने व्यवस्था थियो। दर्ता नगरी स्वास्थ्य परीक्षण गर्न नपाइने अवस्था सिर्जना गरिएको थियो। रकम मलेसियास्थित बैंकमा पठाउनुपर्ने भएकाले सुरुवाती समयमा हुण्डीमार्फत कारोबार हुने गरेको विवरणसमेत सार्वजनिक भएको थियो।

गोकर्ण विष्टले तोडेका थिए सिन्डिकेट

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा कायम रहेको भनिएको सिन्डिकेट र अतिरिक्त शुल्क असुली अन्त्य गर्न कदम चालेका थिए। उनले सीमित स्वास्थ्य संस्थामार्फत सञ्चालन हुँदै आएको बायोमेडिकल प्रणालीलाई चुनौती दिँदै कारबाही प्रक्रिया अघि बढाएका थिए।

त्यसपछि मलेसिया रोजगारी केही समय अवरुद्ध भयो। लामो प्रयासपछि २०७५ कात्तिक १२ गते नेपाल र मलेसियाबीच नयाँ श्रम समझदारी (एमओयू) सम्पन्न भयो।

नयाँ समझदारीपछि थपियो ‘सेक्युरिटी स्क्रिनिङ’

नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था गरिएको थियो। तर व्यवहारमा श्रमिकले नै सुरुमा रकम तिर्नुपर्ने अवस्था कायम रह्यो।

यसैबीच ‘सेक्युरिटी स्क्रिनिङ’ का नाममा प्रत्येक श्रमिकबाट थप १०० मलेसियन रिंगिट उठाउन थालियो। नेपालस्थित माइक्रोटेक प्रालिले मलेसियाको बेस्टिनेट एसडीएन बीएचडीसँग सम्झौता गरी यो प्रक्रिया सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ।

प्रतिश्रमिक ३ हजार १६४ रुपैयाँ संकलन हुने गरेकोमा २ हजार ८०० रुपैयाँ सिस्टम सेवाका लागि र २६४ रुपैयाँ भ्याटबापत लिइन्थ्यो। उक्त रकममध्ये १० प्रतिशत कमिसन व्यवसायी कैलाश खड्काले पाउने र बाँकी रकम मलेसिया पठाउने गरिएको अनुसन्धानमा उल्लेख छ।

१७ पटकको पत्राचारबाट विदेश पठाइयो रकम

यस प्रकरणको मुख्य पक्ष श्रमिकबाट उठाइएको रकम विदेश पठाउन सरकारी निकायबाट भएको सहजीकरण हो।

सीआईबीका अनुसार २०७६ देखि २०८१ सम्म १७ पटक रकम विदेश पठाउन पत्राचार भएको थियो। तीमध्ये चारपटक मात्रै मन्त्रीस्तरीय निर्णय भएको र बाँकी १३ पटक मन्त्रीस्तरीय निर्णयबिनै पत्राचार गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

यस अवधिमा ८३ लाख ७० हजारभन्दा बढी अमेरिकी डलर र ३७ लाख १७ हजारभन्दा बढी पाउन्ड मलेसियास्थित बेस्टिनेट कम्पनीलाई पठाउन स्वीकृति दिइएको विवरण सार्वजनिक भएको छ।

प्रहरीले आवश्यक प्रक्रिया पूरा नगरी तथा पुराना निर्णयलाई आधार बनाएर रकम पठाउन सहजीकरण गरिएको आशंका गरेको छ। यसले सरकारी अधिकारीहरूको भूमिकामाथि समेत प्रश्न उठाएको छ।

पूर्वमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्म अनुसन्धानमा

व्यवसायी कैलाश खड्कासहितका व्यक्तिमाथि अनुसन्धान गर्दा प्राप्त कागजात र बयानका आधारमा सीआईबीले उच्च अधिकारीहरूमाथि अनुसन्धान विस्तार गरेको हो।

यस प्रकरणमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परेका छन्। उनीहरूसँगै तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

त्यस्तै, तत्कालीन श्रमसचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। कुँवर श्रममन्त्री रहँदा अर्याल मन्त्रालयको सचिव थिए। सोही अवधिमा बेस्टिनेट कम्पनीलाई रकम पठाउने प्रक्रिया अघि बढेको विषय अनुसन्धानको केन्द्रमा छ।

सात श्रममन्त्रीको कार्यकालमाथि अनुसन्धान

सीआईबीले २०७६ देखि २०८१ सम्म श्रम मन्त्रालयको नेतृत्व गरेका सात जना मन्त्रीको कार्यकालमा भएका निर्णय र पत्राचारको अध्ययन गरिरहेको छ।यस अवधिमा मन्त्रालयबाट भएका निर्णय, राष्ट्र बैंकलाई पठाइएका पत्र तथा विदेशी मुद्रा निकासीको वैधानिकता परीक्षण भइरहेको छ। केही महत्वपूर्ण कागजात गायब पारिएको हुन सक्ने आशंकासमेत अनुसन्धानका क्रममा उठेको छ।

मलेसिया जाने लाखौँ श्रमिकबाट संकलित रकमको वास्तविक हिसाब, विदेश पठाइएको रकमको वैधानिकता र सरकारी अधिकारीहरूको भूमिकाबारे अनुसन्धान जारी छ।यो प्रकरणले वैदेशिक रोजगारीमा जाने श्रमिकको हितका लागि बनाइएका नीति र प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ। श्रमिकबाट उठाइएको अर्बौँ रुपैयाँको कारोबारमा राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्मको संलग्नता पुष्टि हुन्छ वा हुँदैन भन्ने विषय भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट टुंगिनेछ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार