अयोध्या–जनकपुर रेल सेवाबाट मिथिलाको पर्यटन र रोजगारीमा टेवा पुग्ने अपेक्षा

नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीक मानिने जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोडिएसँगै मिथिला क्षेत्रको पर्यटन र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्या–जनकपुरधाम रेलसेवाले धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउनुका साथै स्थानीय युवाका लागि रोजगारी र उद्यमशीलताको ढोका खोल्ने बताएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले रेलसेवालाई दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। रामजानकी विवाहसँग जोडिएको अयोध्या र जनकपुरको सम्बन्धलाई अब आधुनिक यातायातले थप नजिक ल्याएको उनको भनाइ थियो।विशेषगरी विवाहपञ्चमीका अवसरमा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालुका लागि रेलयात्रा सहज हुने अपेक्षा गरिएको छ। यसले धार्मिक पर्यटकको आवागमन बढाउनुका साथै जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने मन्त्री यादवले बताए।
उनका अनुसार पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, यातायात, होमस्टे, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार हुन सक्छ। पर्यटकलाई मन्दिर दर्शनमा मात्रै सीमित नराखी मिथिलाको कला, संस्कृति, परिकार र परम्परासँग परिचित गराउँदै लामो समयसम्म बस्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
रेलसेवाबाट सिर्जना हुने आर्थिक अवसरलाई स्थानीय युवासँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले सीप विकास, आतिथ्य सत्कार र पर्यटन व्यवसायमार्फत रोजगारीका सम्भावना बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
‘आज हामी एउटा रेलको मात्रै स्वागत गरिरहेका छैनौँ, साझा इतिहास, संस्कृति र आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत गरिरहेका छौँ,’ उनले भने।करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्ने सरयू–कमला एक्सप्रेसलाई नेपाल–भारतबीचको यातायात सहकार्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
कार्यक्रममा मन्त्री यादवले नेपालको रेल इतिहाससमेत स्मरण गरेका थिए। सन् १९२७ मा रक्सौल–अमलेखगञ्ज रेलसेवा सुरु भएको र त्यसको करिब एक दशकपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आएको उनले बताए। पुरानो रेलसेवा बन्द भएपछि दुई देशको सहकार्यमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएको र सन् २०२२ मा जयनगर–कुर्था रेलसेवा पुनः सञ्चालनमा आएको उनको भनाइ थियो।
नयाँ रेलसम्पर्कले धार्मिक आस्थालाई आर्थिक गतिविधिसँग जोड्दै जनकपुरधामको पर्यटन, व्यापार र रोजगारी विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।





