मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

जितको खोजीमा नेपाल, आज पाकिस्तान ‘ए’सँग निर्णायक भिडन्त

जितको खोजीमा नेपाल, आज पाकिस्तान ‘ए’सँग निर्णायक भिडन्त
जितको खोजीमा नेपाल, आज पाकिस्तान ‘ए’सँग निर्णायक भिडन्त · चासो अनलाइन

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत नेपालले आज समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

समूह ‘बी’ मा रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ। प्रतियोगितामा यसअघि खेलेका दुई खेलमध्ये नेपालले एकमा जित र एकमा हार बेहोरेको छ। नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो भने भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो।

यता पाकिस्तान ‘ए’ भने समूहमा उत्कृष्ट लयमा देखिएको छ। उसले यसअघि यूएई र भारत ‘ए’लाई पराजित गर्दै लगातार दुई जित निकालेको छ। पाकिस्तान ‘ए’ चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ।

समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने भएकाले नेपालका लागि आजको खेल जित्नुपर्ने दबाब छ। भारत ‘ए’ र नेपालको समान दुई अंक रहे पनि नेट रनरेटमा भारत अगाडि छ।

नेपालले पाकिस्तान ‘ए’विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सके सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन सक्छ। त्यसैले नेपाली टोलीका लागि आजको खेल प्रतिष्ठासँगै प्रतियोगिताको आगामी यात्रा तय गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।

नेपाली क्रिकेट समर्थकहरू आजको खेलमा टोलीको जितको अपेक्षामा रहेका छन्।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार