मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

कमिल मिशारा शतकमा चितवनको शानदार जित, काठमाण्डू ६१ रनले पराजित

कमिल मिशारा शतकमा चितवनको शानदार जित, काठमाण्डू ६१ रनले पराजित
कमिल मिशारा शतकमा चितवनको शानदार जित, काठमाण्डू ६१ रनले पराजित · चासो अनलाइन

काठमाडौं ।  कामिल मिशारा विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गरेको छ। जितसँगै चितवनले क्वालिफायर्स–२ मा स्थान बनाउँदा काठमाण्डूको उपाधि यात्रा समाप्त भएको छ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

चितवनको जितमा रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। उनले चार ओभरमा १६ रन खर्चिए। पावर प्लेमा नै दुई विकेट लिँदै काठमाण्डूलाई दबाबमा राखेका रिजनले साहिल पटेल र साम हेजलिटलाई आउट गरे।

त्यसपछि सोनु देवकोटा र सन्तोष यादवलाई पनि पभेलियन फर्काउँदै उनले आफ्नो विकेट संख्या चार पुर्‍याए।

त्यस्तै, पाकिस्तानी बलर उसमा मिरले तीन विकेट लिए। उनले विल बोसिस्टो, सेहन अरचिगे र कप्तान करण केसीलाई आउट गरे। सलाहुदिन खान र कुशल मल्लले समान एक विकेट लिए।

काठमाण्डूका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए। भीम शार्की ३० रनमा अविजित रहे भने सेहन अरचिगेले २४ र रशिदले १२ रन जोडे। सन्तोष यादवले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले चार विकेट गुमाएर २०४ रनको योगफल तयार पारेको थियो।

चितवनका ओपनर कमिल मिसराले अविजित १२० रनको शानदार शतकीय पारी खेले। उनले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे। एनपीएलमा मिसराको यो पहिलो शतक हो। उनी जारी प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडीसमेत बनेका छन्।

यसअघि पोखरा एभेन्जर्सका युवराज सम्राले कर्णाली याक्सविरुद्ध १०२ रन बनाउँदै प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका थिए। मिसराले सम्राको व्यक्तिगत सर्वाधिक रनको कीर्तिमानसमेत तोडेका छन्।

चितवनका कप्तान रवि बोपाराले पनि ४२ बलमा ५३ रनको योगदान दिए। उनले तीन चौका र दुई छक्का प्रहार गरे। यो एनपीएलमा उनको दोस्रो अर्धशतक हो।

मिसरा र बोपाराबीच तेस्रो विकेटका लागि १५४ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। रवि १८.३ ओभरमा आउट भएपछि उक्त साझेदारी टुटेको थियो।

त्यस्तै, ओपनर देव खनालले १७ र विवेक यादवले आठ रन बनाए।

काठमाण्डूका कप्तान करण केसी र रसिदले समान दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस जितसँगै चितवनले एनपीएलको इतिहासमा पहिलोपटक क्वालिफायर्स–२ मा स्थान बनाएको छ। अब उसले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि चितवन पहिलो संस्करणमा इलिमिनेटरसम्म पुगेको थियो भने दोस्रो संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो।