मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

एनपीएलको फाइनल टिकट नखुल्दै ‘सोल्ड आउट’,फ्यान आक्रोशित

एनपीएलको फाइनल टिकट नखुल्दै ‘सोल्ड आउट’,फ्यान आक्रोशित
एनपीएलको फाइनल टिकट नखुल्दै ‘सोल्ड आउट’,फ्यान आक्रोशित · चासो अनलाइन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री औपचारिक रूपमा सुरु नहुँदै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि क्रिकेट समर्थकहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

शुक्रबार दिउँसो १ बजेबाट टिकट बिक्री खुल्ने तालिका तय भए पनि त्यसअघि नै टिकट सकिएको सूचना देखिएपछि दर्शकहरू आक्रोशित बनेका हुन्।

प्रयोगकर्ताहरूका अनुसार दिउँसो १२ बजेर ५७ मिनेटमै टिकटिङ प्लेटफर्म खोलेर हेर्दा फाइनल खेलको टिकट ‘सोल्ड आउट’ देखाइएको थियो। केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे खुल्ने समय देखिएको भए पनि बिक्री खुल्ने समय भएपछि प्रयास गर्दा टिकट काट्न नसकेको उनीहरूले बताएका छन्। धेरै प्रयोगकर्ताले दिउँसो १ बजेर १ मिनेटमा टिकट खरिद गर्न खोज्दा समेत प्रक्रिया सफल नभएको गुनासो गरेका छन्।

बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिनु र निर्धारित समयमा टिकट काट्न खोज्दा पनि नपाउनुले सामाजिक सञ्जालमा आक्रोश र शंका बढाएको छ। जारी एनपीएलका अघिल्ला खेलहरूमा पनि टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या आउने र छिट्टै टिकट सकिने गरेको भन्दै दर्शकहरूले गुनासो गर्दै आएका थिए।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुँदैछ। उच्च चासो र क्रेज रहेको निर्णायक खेलकै टिकट बिक्रीमा यस्तो समस्या दोहोरिएपछि आयोजक तथा टिकट व्यवस्थापन प्रणालीको पारदर्शिता र क्षमतामाथि गम्भीर प्रश्न उठेको छ।