काठमाडौं महानगरको मेयरमा उठ्दै सुमना श्रेष्ठ, दलबाट वा स्वतन्त्र भन्ने खुलाइनन्

पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि मेयर पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएकी हुन्।
आफूले जीवन र कर्मका क्रममा हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौंको विकास र सेवामा लगाउने उनको भनाइ छ।
श्रेष्ठले आफ्नो फेसबुक पोस्टमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
यद्यपि, उनले कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भन्नेबारे खुलाएकी छैनन्।
श्रेष्ठले गत आम निर्वाचनअघि रास्वपा परित्याग गरेकी थिइन्। उनी यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा समेत रहेकी थिइन्।




