मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

चुनावी हारबाट निराश नहुन एमाले कार्यकर्तालाई विद्यादेवी भण्डारीको आग्रह

चुनावी हारबाट निराश नहुन एमाले कार्यकर्तालाई विद्यादेवी भण्डारीको आग्रह
चुनावी हारबाट निराश नहुन एमाले कार्यकर्तालाई विद्यादेवी भण्डारीको आग्रह · चासो अनलाइन

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले निर्वाचनमा पराजय हुँदैमा निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। उनले विगतका राजनीतिक संघर्षबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने बताएकी छन्।

बिहीबार राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै भण्डारीले गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तामा निराशा पैदा गरेको हुन सक्ने बताइन्। तर, एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उनको भनाइ छ।पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनमा आएको संकट र मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा पनि एमालेले आफ्नो राजनीतिक यात्रा जारी राखेको स्मरण गर्दै उनले विगतबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन नेतृत्वदेखि तल्लो तहसम्म जिम्मेवारीको व्यावहारिक बाँडफाँट, योगदान र क्षमताको निष्पक्ष मूल्यांकन तथा साझा उद्देश्य निर्माण आवश्यक रहेको उनले बताइन्।हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबारे विस्तृत समीक्षा भइसकेको उल्लेख गर्दै भण्डारीले त्यसबाट प्राप्त निष्कर्षलाई नेतृत्वदेखि कार्यकर्तासम्म इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन। तर पराजयबाट सही पाठ सिक्दै कमजोरी सच्याएर अघि बढ्नु हाम्रो जिम्मेवारी हो।’राजनीतिमा थकाइ र विश्राम नहुने उल्लेख गर्दै भण्डारीले आफू कुनै पद प्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको स्पष्ट पारिन्। कम्युनिस्ट आन्दोलन र एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्ने उद्देश्यले आफू पुनः सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ थियो।

भण्डारीले वर्तमान सरकारको कार्यशैली निरंकुश, स्वेच्छाचारी, अराजक र प्रतिशोधपूर्ण बन्दै गएको आरोपसमेत लगाएकी छन्। असहमत विचारलाई नियन्त्रण गर्ने दिशामा सरकार अघि बढेको टिप्पणी गर्दै उनले यस्तो प्रवृत्ति एमालेलाई स्वीकार्य नहुने बताइन्।संविधान र लोकतान्त्रिक व्यवस्था रक्षाका लागि आफ्नो पार्टी सडक संघर्षमा उत्रिनसमेत तयार रहेको उनले चेतावनी दिइन्।

राजनीतिक असहमतिका आधारमा व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाइएको आरोप लगाउँदै उनले कानुनलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने बताइन्। कानुन उल्लंघन भएको अवस्थामा निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाबाट समाधान खोजिनुपर्ने उनको धारणा थियो।स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक प्रतिस्पर्धा र प्रतिपक्षको भूमिकालाई सम्मान नगरी लोकतन्त्र बलियो हुन नसक्ने उनले उल्लेख गरिन्। सरकारलाई संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटो अपनाउन पनि उनले आग्रह गरिन्।

लोकतान्त्रिक व्यवस्थामा संसद्, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायको स्वतन्त्रता र गरिमाको सम्मान हुनुपर्ने भण्डारीको भनाइ छ।

उनले राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई लक्षित गर्ने, कानुनी प्रक्रिया पूरा नगरी नियन्त्रणमा लिने र सञ्चारमाध्यमको स्वतन्त्रता खुम्च्याउने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिविपरीत रहेको बताइन्।

पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका केही गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय प्रणाली तथा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको भण्डारीले बताइन्।समयमै यस्ता विषयको समाधान खोज्न नसके मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उनको चेतावनी छ। त्यसैले राजनीतिक दल तथा देशभक्त शक्तिहरूलाई सानातिना मतभेद बिर्सेर संवाद र सहकार्यको पहल गर्न उनले आह्वान गरिन्।नेपालको संविधान राजनीतिक सहमतिको ऐतिहासिक दस्तावेज भएकाले यसको संशोधन पनि राजनीतिक सहमतिका आधारमा हुनुपर्ने उनको धारणा छ।संविधानका केही धारामा संशोधन आवश्यक भए पनि प्रस्तावना, आधारभूत सिद्धान्त र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी परिवर्तन गर्न नहुनेमा उनले जोड दिइन्।