दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, पुनर्बहालीको माग कायम

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा तोकिएको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकको जिम्मेवारी दिएको थियो।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। आफूलाई पदबाट हटाउनुअघि कुनै पूर्वसूचना नदिइएको र सफाइ पेस गर्ने अवसरसमेत उपलब्ध नगराइएको उनको जिकिर छ।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ को व्यवस्थाविपरीत कानुनी प्रक्रिया पूरा नगरी गरिएको पदमुक्ति गैरकानुनी रहेको दाबी उनले रिटमा गरेका छन्।
कार्कीले मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा बहाल गर्न परमादेश जारी गर्न माग गरेका छन्। साथै, मुद्दाको अन्तिम टुंगो नलागेसम्म नवनियुक्त आईजीपी डा. मनोज केसीलाई प्रहरी प्रमुखका रूपमा काम गर्न रोक लगाउन अन्तरिम आदेशको मागसमेत गरेका छन्।
आजको सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्ने वा अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाउने भन्ने विषयमा निर्णय गर्न सक्नेछ।



.jpg)
