मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

छोरीको सम्झनामा खाली खुट्टा हिँडिरहेका सुपरस्टार

छोरीको सम्झनामा खाली खुट्टा हिँडिरहेका सुपरस्टार
छोरीको सम्झनामा खाली खुट्टा हिँडिरहेका सुपरस्टार · चासो अनलाइन

एजेन्सी।दक्षिण भारतीय (तमिल) फिल्म उद्योगका चर्चित अभिनेता तथा संगीत निर्देशक विजय एन्टोनी लामो समयदेखि सार्वजनिक कार्यक्रम, मञ्च र दैनिक जीवनमा समेत खाली खुट्टा (जुत्ताचप्पल नलगाई) हिँड्दै आएका छन्।

अर्बौँको सम्पत्ति र स्टारडमका बाबजुद उनले किन जुत्ताचप्पल त्यागे भन्ने विषयमा फ्यानहरूमाझ ठूलो जिज्ञासा थियो। अन्ततः उनकी पत्नी तथा निर्मात्री फातिमा विजय एन्टोनीले आफ्नी दिवङ्गत छोरीसँग जोडिएको यसको मर्मस्पर्शी कारण प्रष्ट पारेकी छन्।

निर्देशक मु मारनको निर्देशनमा बनेको विजयको नयाँ फिल्म ‘अप्पा कुट्टी’को प्री–रिलिज समारोहमा बोल्दै फातिमाले श्रीमान्‌को खाली खुट्टाको वास्तविकता खुलाएकी हुन्। फातिमाका अनुसार सन् २०२३ को सेप्टेम्बरमा १६ वर्षीया जेठी छोरी मीराले आत्महत्या गरेपछि विजय एन्टोनी गहिरो मानसिक आघात र शोकमा डुबेका थिए। छोरी गुमाउनुको त्यो असह्य पीडापछि विजयले आफ्ना व्यक्तिगत भौतिक सुखसुविधाहरू त्याग गर्ने निर्णय लिए, जसको सुरुवात उनले जुत्ताचप्पल नलगाउने संकल्पबाट गरे।

मञ्चमा भक्कानिँदै फातिमाले बताइन् कि छोरी मीराको मृत्युपछि विजयले जीवनमा अब कुनै पनि भौतिक आराम नलिने र दिवङ्गत छोरीको सम्झनामा तपस्वीजस्तै सादा जीवन बिताउने अठोट गरेका हुन्। छोरीलाई गुमाएको पीडालाई बिर्सन नसकेर र छोरीप्रतिको अथाह समर्पणस्वरूप उनले खुट्टामा चप्पलसमेत नलगाई हिँड्ने बाटो रोजेका हुन्।

बाहिर जतिसुकै शान्त र मुस्कुराएको देखिए पनि भित्रभित्रै एक पिताले छोरीको वियोगमा कति कठोर तपस्या गरिरहेका छन् भन्ने फातिमाको बयानले कार्यक्रममा उपस्थित दर्शक र फिल्मकर्मीसमेत स्तब्ध बनेका थिए। बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धमै आधारित ‘अप्पा कुट्टी’ रिलिज हुँदै गर्दा बाहिरिएको विजयको यो वास्तविक पीडाले दर्शकको मन झनै भावुक बनाएको छ ।