सञ्चारमाध्यमविरुद्ध सुधन गुरुङको काउन्सिलमा उजुरी, रिसोर्टद्वारा समाचारको खण्डन

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् ।

विभिन्न सञ्चारमाध्यममा ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले काउन्सिलको ध्यानाकर्षण गराएका हुन् । सांसद गुरुङले उक्त समाचारलाई ‘पित पत्रकारिता’ को पराकाष्ठा र आफ्नो चरित्र हत्या गर्ने नियोजित प्रयास भएको दाबी गरेका छन् । आफ्नो पारिवारिक भ्रमणलाई तोडमरोड गरी भ्रामक रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले दोषीमाथि प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीको माग गरेका छन् ।

रिसोर्टको दाबी: "मनगढन्ते र काल्पनिक घटना"

यसैबीच, समाचारमा जोडिएको सिन्धुपाल्चोकस्थित भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पा लिमिटेडले पनि जेठ ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको कडा खण्डन गरेको छ ।

रिसोर्ट प्रशासनले आफ्नो संस्थाको नाम अनावश्यक रूपमा विवादमा तानी सिर्जना गरिएका सामग्रीहरू पूर्णतः मनगढन्ते र काल्पनिक रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ:

"नेपाल प्रहरीले अनुसन्धानको सिलसिलामा गरेको सामान्य सोधपुछ र विवरण संकलनको नियमित प्रक्रियालाई समेत केही सञ्चारमाध्यमले अतिरञ्जित ढंगले प्रस्तुत गरेका छन् ।"

"सञ्चारकर्मी" बाटै कर्मचारी त्रसित

रिसोर्टले केही व्यक्तिहरूले आफूलाई सञ्चारकर्मीका रूपमा चिनाउँदै होटलका कर्मचारीहरूलाई अनावश्यक दबाब दिने, त्रसित बनाउने र जबर्जस्ती अभिव्यक्ति दिन बाध्य पारिरहेको गम्भीर आरोप समेत लगाएको छ । यस्ता गतिविधिले संस्थाको व्यावसायिक छविमा नकारात्मक असर पुगेको रिसोर्टको ठहर छ ।

कानुनी उपचारको चेतावनी

संस्थाको प्रतिष्ठा र विश्वसनीयतामा आँच पुऱ्याउने गरी तथ्यहीन समाचार र भिडियो सम्प्रेषण नगर्न आग्रह गर्दै रिसोर्टले चेतावनी दिएको छ । यस्ता भ्रामक प्रचारहरू तत्काल नरोकिएमा मुलुकी अपराध संहिता, २०७४वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ लगायतका प्रचलित कानुन बमोजिम कडा कानुनी उपचार खोज्न बाध्य हुने रिसोर्टले स्पष्ट पारेको छ ।