चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा वर्षा र हिमपात, शनिबारदेखि मौसममा सुधार हुने

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिएको छ। यसको प्रभावसँगै देशका विभिन्न स्थानमा वर्षा, हिमपात र चिसो बढेको छ। बिहीबार रातिदेखि सुरु भएको वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार भारतमा शक्तिशाली रहेको चक्रवात नेपाल प्रवेश गर्ने क्रममा कमजोर भई न्यून चापीय प्रणालीमा परिणत भएको छ। यद्यपि यसको बाँकी प्रभावका कारण केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार शुक्रबार रातिसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
शनिबार दिउँसोदेखि मौसममा सुधार हुने
मौसमविद् डेभिड ढकालका अनुसार चक्रवात ‘अर्नब’को प्रभाव शनिबार दिउँसोदेखि क्रमशः कमजोर हुँदै जानेछ। यद्यपि स्थानीय मौसमको अवस्था हेरेर सतर्क रहन र नियमित मौसम पूर्वानुमानको जानकारी लिन उनले आग्रह गरेका छन्।
पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
सर्वसाधारणलाई सतर्क रहन आग्रह
लगातारको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो र पहिरोको जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। जोखिमयुक्त नदी किनार, बाढी प्रभावित क्षेत्र तथा उच्च हिमाली भेगमा अनावश्यक यात्रा नगर्न पनि सुझाव दिइएको छ।
मौसममा आएको परिवर्तनले धानबाली भित्र्याउने तयारीमा रहेका किसानसमेत प्रभावित हुन सक्ने देखिएको छ। त्यसैले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्





