बागमती, मधेश र कोशी प्रदेशमा गएरातिसम्म परेको भारी वर्षा क्रमशः कमजोर बन्दै गएको छ। अहिले ठूलो पानी पार्ने प्रणाली भने कोशी प्रदेशमा मात्र केन्द्रित रहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज र भोलिसम्म भारी वर्षा हुने अनुमान गरिए पनि प्रणाली कमजोर हुँदै गएकाले अब ठूलो वर्षाको सम्भावना छैन। तर, हल्कादेखि मध्यम वर्षा भने केही समय जारी रहनेछ।
बितेका २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको विभागले जनाएको छ। विभागका अनुसार बागमती र मधेश प्रदेशमा वर्षाको तीव्रता बिस्तारै घट्दै गएको छ भने कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि ठूलो वर्षा अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ।
हाल देशभरका आठवटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला र बिरिङ खोला लगायतका नदीहरू उच्च जोखिममा छन्। अन्य धेरै नदी–नालाहरू सतर्कता तह नजिक पुगेका कारण बाढी पूर्वानुमान शाखाले सचेत रहन आग्रह गरेको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार वर्षा रोके पनि केही घण्टासम्म बाढीको जोखिम कायम रहने भएकाले सतर्कता आवश्यक छ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार कोशी प्रदेशका पहाडी जिल्लामा आज बेलुकीसम्म विशेष सतर्कता अपनाउनुपर्ने छ। सप्तकोशी नदीको बहाव बढ्ने सम्भावना रहे पनि त्रिशूली, मस्र्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशीमा भने बहाव क्रमशः घट्दै जाने अनुमान छ।
