निरन्तर वर्षा र बिग्रिएको सडकका कारण यस वर्ष दशैँमा पर्यटक जलजला पुग्न सकेका छैनन्। अघिल्लो वर्ष यसै समयमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको जलजला क्षेत्र यो वर्ष सुनसान छ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्लाको सिमानामा अवस्थित छ। यहाँबाट दर्जनौँ हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्ला वर्षहरूमा जलजला पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको छ।
ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा रहेको जलजला क्षेत्र अघिल्लो वर्षमात्र सडक सञ्जालमा जोडिएको हो। ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला जोडिए पनि वर्षायाममा सडक हिलो र बिग्रिने भएकाले गाडी सञ्चालन हुन सक्दैन।
ढोरपाटन उपत्यकाबाट जलजला पुग्नका लागि घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्छ। तर यस वर्ष तीन स्थानमा पर्ने गाठेसाँघु वर्षाका कारण हाल्न नसकिएकाले पर्यटक बाटैबाट फर्किन बाध्य भएका छन्।
ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार, “अघिल्ला दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको थियो, तर यस वर्ष मौसमका कारण कोही पनि पुग्न सकेका छैनन्।”
