२ हजारको लक्ष्यमा ६८ हजारको आवेदन, एआई तालिममा सहभागी सबैलाई अवसर दिने सरकारको निर्णय !

काठमाडौँ । सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी अनलाइन तालिममा ६८ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्। सुरुमा २ हजार युवालाई मात्र सहभागी गराउने लक्ष्य राखिएकोमा आवेदनकर्ताको अत्यधिक चापलाई मध्यनजर गर्दै सरकारले आवेदन दिएका सबैलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प्ट इन्जिनियरिङ’ विषयमा उक्त तालिम सञ्चालन गर्न लागेको हो। तालिमका लागि पहिलो चरणमा ४२ हजार र पुनः आवेदन खुलाइएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए।
प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइनको सहकार्यमा सञ्चालन गर्न लागेको यस तालिमप्रति देशभरका युवाले उत्साहजनक चासो देखाएका छन्। बढ्दो डिजिटल प्रविधि र एआईप्रतिको आकर्षणलाई मध्यनजर गर्दै सरकारले तालिमको पहुँच विस्तार गरेको हो।
तालिममा सहभागी हुन इच्छुकहरूले आफूलाई अनुकूल हुने सत्र छनोट गरी मोबाइल वा ल्यापटपमार्फत अनलाइन जोडिन सक्नेछन्। तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि सहभागीलाई एसएमएसमार्फत आवश्यक लिङ्क पठाइनेछ। उक्त लिङ्क, दर्ता गरिएको नाम र मोबाइल नम्बरका आधारमा सहभागी हुन सकिने व्यवस्था मिलाइएको छ।
आधारभूत तहको यस तालिममा च्याटजीपीटी, क्लाउडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, प्रोम्प्ट लेखन, कार्यालयका कागजात तथा इमेल तयार पार्ने, प्रस्तुतीकरण बनाउने, तस्बिर तथा भिडियो निर्माण गर्ने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने सीप सिकाइनेछ।
बदलिँदो श्रम बजारमा प्रतिस्पर्धी बन्न युवाका लागि एआई साक्षरता महत्त्वपूर्ण बन्दै गएको मन्त्रालयको ठहर छ। लाइभ अनलाइन माध्यमबाट सञ्चालन हुने तालिमले युवालाई दैनिक जीवन, अध्ययन तथा रोजगारीका क्षेत्रमा एआई प्रविधिको प्रभावकारी उपयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
युवालाई प्रविधिमैत्री र रोजगारमूलक सीप प्रदान गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ।




