काठमाडौं- काठमाडौंमा निरन्तर गर्मी बढ्दै गएको छ । शनिबार विगत २५ वर्षयताकै उच्च तापक्रम मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ । जुन रेकर्ड ब्रेक नजिक हो । विभागका अनुसार काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । जुन २०४६ वैशाख २५ गते पुगेको थियो । उक्त रेकर्ड त्उयसपछि ब्रेक भएको छैन ।
शनिबारको काठमाडौंको तापक्रम २५ वर्षयताकै उच्च हो । २०५६ वैशाख १३ मा काठमाडौंको तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।त्यसपछि त्यसयता विभिन्न मितिमा ३५.२ डिग्री सेल्सियससम्म काठमाडौंको तापक्रम पुगेकोमा शनिबारको तापक्रम २०५६ सालपछिकै उच्च हो । महाशाखाका अनुसार काठमाडौंको तापक्रम २०५६ पछि तीनपटक ३५ डिग्री सेल्सियस नाघेको देखिन्छ । २०६६ सालमा ३५.२, २०६९ मा ३५.२ र यसै वर्ष गत वैशाख १२ गते पनि काठमाडौंको तापक्रम ३५.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।