रियादको अग्लो गगनचुम्बी भवनमा हुथी आक्रमण, पीआईएफ मुख्यालयमा क्षति

काठमाडौं । यमनको इरानसमर्थित हुथी विद्रोही समूहले गरेको क्षेप्यास्त्र आक्रमणमा साउदी अरबको राजधानी रियादस्थित एक प्रमुख गगनचुम्बी भवनमा क्षति पुगेको छ। बिहीबार बिहान भएको आक्रमणमा साउदी अरबको सार्वभौम सम्पत्ति कोष (पब्लिक इन्भेस्टमेन्ट फन्ड–पीआईएफ) को मुख्यालय रहेको ८० तले टावर प्रभावित भएको हो।
साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीका अनुसार रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको थियो। तर, त्यसका अवशेष खस्दा भवनमा भौतिक क्षति पुगेको हो। घटनामा मानवीय क्षति भने नभएको उनले बताएका छन्।
आक्रमणका कारण ३८५ मिटर अग्लो पीआईएफ टावरका विभिन्न तलाका सिसा फुटेका छन्। आसपासका आवासीय तथा व्यावसायिक भवनहरूमा समेत क्षति पुगेको बताइएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त भवनका अधिकांश कर्मचारीले गत सेप्टेम्बरदेखि नै घरबाट काम गर्दै आएका थिए।
किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको यो टावर साउदी युवराज मोहम्मद बिन सलमानको आर्थिक सुधार योजनाको महत्त्वपूर्ण केन्द्र मानिन्छ। करिब ९०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्ने पीआईएफले साउदी अर्थतन्त्रलाई तेलमाथिको निर्भरता घटाउँदै विविधीकरण गर्ने योजनामा प्रमुख भूमिका खेल्दै आएको छ।
पछिल्लो समय यमनमा जारी द्वन्द्व चर्किएसँगै हुथी समूहले साउदी अरबका महत्त्वपूर्ण पूर्वाधार तथा वित्तीय केन्द्रहरूलाई लक्षित गर्दै आएको छ। गत अक्टोबरमा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १४ जनाको मृत्यु भएको थियो।
बिहीबार नै साउदी नेतृत्वको गठबन्धनले देशको दक्षिणी क्षेत्रमा लक्षित गरी प्रहार गरिएका पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेको छ। साथै, यमनको धमार क्षेत्रमा रहेको हुथी समूहको क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्वस्त पारेको पनि गठबन्धनले जनाएको छ। यता हुथी सञ्चारमाध्यमले भने साउदी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमण गरेको बताएका छन्।
सन् २०२२ मा भएको युद्धविराम भंग भएपछि यमनमा हिंसा पुनः बढेको छ। द्वन्द्वका कारण हालसम्म १ हजार ६०० भन्दा बढीको ज्यान गएको र तीन लाखभन्दा बढी मानिस विस्थापित भएको विवरण सार्वजनिक भएको छ।
यसैबीच, क्षेत्रीय सुरक्षा तनाव बढिरहेका बेला साउदी युवराज मोहम्मद बिन सलमानले बिहीबार रियादमा अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरसँग भेटवार्ता गरेका छन्। भेटमा सैन्य सहकार्य तथा क्षेत्रीय सुरक्षाका विषयमा छलफल भएको बताइएको छ।




