चीनले द्वितीय विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा राजधानी बेइजिङमा भव्य सैन्य परेड आयोजना गरेको छ। परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व नेताहरूलाई स्वागत गरेका छन्। सहभागी हुनेमध्ये रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि छन्।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार परेड हालै सुरु भइसकेको छ। यसमा चीनले आफ्नो सैन्य शक्ति र भविष्यप्रतिको दृष्टिकोण प्रस्तुत गरेको छ। चीनले यसअघि सन् २०१५ मा पहिलो पटक यस्तो भव्य परेड आयोजना गरेको थियो।
यसपटकको ‘विजय दिवस’ परेडमा ४५ सैनिक टुकडी सहभागी छन् र कार्यक्रम झन्डै ७० मिनेटसम्म चल्नेछ। चीनले परेडमार्फत उन्नत सैन्य उपकरणहरू—जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, फाइटर जेटलगायत—प्रदर्शनमा राखेको छ।
चीनका सहायक विदेशमन्त्री हङ लेईका अनुसार परेडमा २६ विदेशी नेताहरूको सहभागिता रहेको छ। पुटिन चीनमै रहेका छन् भने किम जोङ उन हिजो रेलमार्फत बेइजिङ पुगेका थिए।
