मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एम्बुलेन्स सेवा अब एकीकृत प्रणालीमा, ‘१०२’ नम्बरबाट सम्पर्क गर्न सकिने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका एम्बुलेन्स सेवालाई एकीकृत गर्ने निर्णय गरेको छ। यसका लागि मन्त्रालयले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गर्नुभएको निर्देशिकाले छरपस्ट रूपमा सञ्चालित एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमार्फत एकीकृत प्रेषण केन्द्रद्वारा सञ्चालन गर्ने व्यवस्था गरेको छ। अब देशका जुनसुकै ठाउँबाट ‘१०२’ नम्बरमा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिनेछ। साथै, सबै एम्बुलेन्सलाई जीपीएस प्रणालीमा आबद्ध गर्नुपर्ने प्रावधान पनि राखिएको छ।

निर्देशिकामा एम्बुलेन्स सेवाको वर्गीकरण, शुल्कमा एकरूपता, र नियमनसम्बन्धी प्रावधानहरू समावेश छन्। गरिब, असहाय तथा विपद्मा परेका बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आकस्मिक स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने र सेवाको गुणस्तरमा एकरूपता ल्याउने उद्देश्यले यो निर्देशिका ल्याइएको हो।

निर्देशिका कार्यान्वयनसँगै देशभरका एम्बुलेन्स सेवा अब एकीकृत सञ्जालमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।