काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरमध्ये तेस्रो स्थानमा परेको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यूएयर (IQAir) ले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर निकै खराब अवस्थामा पुगेको हो।
आइक्यूएयरको बिहीबार बिहान ८:४५ देखि ९:४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यससँगै काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा परेको हो।
उक्त सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको एक्यूआई ३२५ मापन गरिएको छ भने बंगलादेशको राजधानी ढाका २५६ एक्यूआईसहित दोस्रो स्थानमा छ।
त्यस्तै, भारतको राजधानी नयाँदिल्ली १८२ एक्यूआईसहित चौथो स्थानमा रहेको छ। पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन्।
एक्यूआई १८३ पुगेसँगै काठमाडौंको वायु गुणस्तर 'अस्वस्थकर' तहमा पुगेको छ। यस्तो अवस्थामा सर्वसाधारणमा समेत प्रदूषणको असर देखिन सक्ने भए पनि बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहने बताइएको छ।
वायु प्रदूषणको उच्च स्तरले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले विशेषगरी संवेदनशील समूहका व्यक्तिहरूलाई बाहिरी वातावरणमा लामो समय बिताउँदा सावधानी अपनाउन आवश्यक देखिन्छ।





