मंगलबार मंसिर ८, २०८३
सोमबार, असोज २६, २०८३ काठमाडौं २४°C
[email protected]

अब छाप हेरेर मात्रै मासु किन्नुहोस्, छापबिनाको मासु बेच्नेलाई २० हजारसम्म जरिबाना

अब छाप हेरेर मात्रै मासु किन्नुहोस्, छापबिनाको मासु बेच्नेलाई २० हजारसम्म जरिबाना
अब छाप हेरेर मात्रै मासु किन्नुहोस्, छापबिनाको मासु बेच्नेलाई २० हजारसम्म जरिबाना · चासो अनलाइन

उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले आज (मंसिर १ गते) देखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। ऐन लागू भएसँगै अब उपभोक्ताले मासु किन्दा त्यसमा आधिकारिक स्वास्थ्य परीक्षणको छाप भए–नभएको अनिवार्य रूपमा हेर्नुपर्नेछ।

काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण स्थानीय तहमा एकैसाथ ऐन कार्यान्वयनमा ल्याइएको हो। यसअघि सरकारले भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ऐनलाई तीन चरणमा देशभर लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

कार्यतालिकाअनुसार पहिलो चरणमा आजदेखि काठमाडौं उपत्यकामा ऐन लागू गरिएको हो। दोस्रो चरणमा आगामी माघ १ गतेदेखि उपत्यकाबाहिरका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा तेस्रो चरणमा २०८४ साउन १ गतेदेखि बाँकी सबै गाउँपालिकामा ऐन कार्यान्वयन गरिनेछ।

ऐन कार्यान्वयनको पहिलो दिन उपत्यकाका तीनवटा स्थापित वधशाला—काठमाडौंको भ्याली कोल्ड स्टोर, भक्तपुरको न्यु पञ्चकन्या वधशाला र ललितपुरको एभरेस्ट बंगुर वधशालाबाट पशु स्वास्थ्य परीक्षण तथा मासुमा आधिकारिक छाप लगाउने काम सुरु गरिएको छ।

ऐन कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले उपत्यकाका २१ वटै पालिकामा २३ जना मासु सुपरिवेक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। त्यस्तै, २४० जना मासु निरीक्षकलाई तालिम दिएर परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा उच्चस्तरीय संयन्त्र र १२ वटा कार्यदलसमेत गठन गरिएको छ।

नयाँ व्यवस्थाअनुसार पशुपन्छी वध गर्नुअघि र वध गरिसकेपछि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। परीक्षणमा स्वस्थ ठहरिएका पशुपन्छीको मासुमा मात्रै आधिकारिक छाप लगाएर बिक्री गर्न पाइनेछ।

त्यस्तै, अब मासु पसल सञ्चालन गर्न इजाजतपत्र लिनुपर्नेछ। जथाभावी पशुपन्छी वध गर्ने अभ्यासलाई निरुत्साहित गर्दै तोकिएको वधस्थलबाट मात्रै मासु उत्पादन तथा बिक्री गर्ने व्यवस्था मिलाइनेछ।

सरकारले साना तथा खुद्रा मासु व्यवसायीलाई विस्थापित नगर्ने स्पष्ट पार्दै स्थानीय तहसँग समन्वय गरी तोकिएको वधस्थलमा स्वास्थ्य परीक्षण गराएर व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ।

ऐन उल्लंघन गरी रोगी पशुको मासु बिक्री गर्ने, मासुमा मिसावट गर्ने वा छापबिनाको मासु बिक्री गर्ने व्यवसायीलाई कसुरको प्रकृतिअनुसार ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना र एकदेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

लेखक चासो संवाददाता

राजनीति, संसद र दलगत गतिविधिमा केन्द्रित रिपोर्टिङ।

थप समाचार