मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

‘जेनजी आन्दोलनको सम्बोधन संविधानभित्रै हुनुपर्छ’ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा आन्दोलनको मर्म र भावनालाई संविधानभित्रै रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ। संविधान दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो।

उपराष्ट्रपति यादवले पछिल्लो समय संविधानको चौतारोभित्रै रही अन्तरिम सरकार गठन र आन्दोलन सम्बोधनको प्रक्रियाले संविधानको लचकता, समाधानमुखी स्वरूप र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको बताउनुभयो।

उनको सन्देशमा मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन सबै पक्ष सक्रिय र प्रतिबद्ध हुनुपर्ने उल्लेख छ।

“नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो। यसले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसाएको छ,” यादवले भनेका छन्।

उहाँले संविधानले न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्ने, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको बताउनुभयो।

यस्तै, उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र हालैको जेनजी युवाको प्रदर्शनका क्रममा शहीद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली, घाइते तथा अंगभंग भएकाप्रति सम्मान र परिवर्तनका अग्रदूतहरूप्रति प्रशंसा प्रकट गर्नुभएको छ।