नेपाल, दिल्ली र ढाकामा एउटै नारा! शिक्षामन्त्रीको गैरजिम्मेवारीपनले विद्यार्थीको भविष्य अन्योलमा!
के यो दक्षिण एसियाली 'शिक्षा क्रान्ति' हो?
दक्षिण एसियाली छिमेकी राष्ट्रहरूमा यतिबेला शिक्षा क्षेत्र अस्तव्यस्त बन्दा तीन देशका शिक्षामन्त्रीहरू एकैपटक चौतर्फी घेराबन्दी र राजीनामाको दबाबमा परेका छन्
नेपाल, भारत र बङ्गलादेशमा विद्यार्थी तथा आमनागरिक सडकमा उत्रिँदा मन्त्रीहरूप्रति जनआक्रोश चरम विन्दुमा पुगेको छ। नेपालमा गत असारमा प्रकाशित कक्षा १२ को नतिजामा गम्भीर गोलमाल भएको भन्दै विद्यार्थीहरू शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध सडक प्रदर्शनमा उत्रिएका थिए। हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको भन्दै मन्त्री पोखरेलको राजीनामा मागियो। यद्यपि, मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो बचाऊ गरे पनि उनी इतिहासमै पहिलोपटक विद्यार्थीलाई सडकमा आउन बाध्य पार्ने अलोकप्रिय मन्त्री बनेका छन्।
उता भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको अवस्था झनै नाजुक छ। 'नीट' (NEET) लगायतका राष्ट्रिय परीक्षाहरूमा भएको व्यापक धाँधली र प्रश्नपत्र लीकका कारण कयौँ विद्यार्थीले आत्महत्या गरेपछि उनी चौतर्फी आलोचनामा परेका हुन्। 'ककरोच जनता पार्टी' (सीजेपी) को नेतृत्वमा दिल्लीको जन्तर-मन्तरमा भएको विशाल 'जेन-जी' (Gen-Z) प्रदर्शनको प्रमुख माग नै प्रधानको राजीनामा थियो। तर, चौतर्फी दबाबका बाबजुद उनी पदमै अडिग छन्। यस्तै, बङ्गलादेशका शिक्षामन्त्री डा. एएनएम एसानुल हक मिलोन पनि तीव्र असन्तोषको घेरामा छन्। भीषण बाढी र डुबानको समयमा समेत कक्षा ११ र १२ को परीक्षा नसारेको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।
'द डेली स्टार' का अनुसार मन्त्री मिलोनसँग विद्यार्थी मात्र होइन, आफ्नै दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का १४ केन्द्रीय र ५ स्थायी कमिटी सदस्यसमेत सार्वजनिक रूपमै क्रुद्ध बनेका छन्। यसरी दक्षिण एसियाका तीनै देशमा शिक्षा क्षेत्रको कुव्यवस्थापन, गैरजिम्मेवार नीति र परीक्षा प्रणालीको लापरबाहीले गर्दा शिक्षामन्त्रीहरू एकै समयमा पदत्यागको गम्भीर सङ्कट झेलिरहेका छन्।