मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

युवाहरू सडकमा

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राजधानीको माइतीघरमा नयाँ पुस्ताका युवाहरू सडकमा उत्रिएका छन्। उनीहरूले भ्रष्टाचार र अव्यवस्थाविरुद्ध आवाज उठाउँदै विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। कतिपय विद्यार्थी विद्यालय वा कलेजको पोशाकमै आएर आन्दोलनमा सहभागी भएका देखिएका छन्।

सन् १९९७ देखि २०१२ भित्र जन्मेका, अर्थात् २८ वर्षमुनिका ‘जेन जेड’ पुस्ताले कुनै औपचारिक आह्वानबिना नै स्वतःस्फूर्त रुपमा प्रदर्शन सुरु गरेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रमा प्रवेश नगर्ने शर्तमा उनीहरूलाई प्रदर्शन गर्न अनुमति दिएको छ।

आन्दोलनमा विभिन्न व्यक्ति र समूहको समर्थन पनि देखिएको छ। तर सम्भावित ‘घुसपैठ’ रोक्न सुरक्षा निकाय सतर्क बनाइएको छ। प्रशासनले आयोजकलाई सचेत रहन आग्रह गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ भने, प्रहरीले कुनै पनि अवैध गतिविधि हुन नदिने चेतावनी दिँदै आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ।

सरकारको सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयप्रति आक्रोशित ‘जेन जेड’ युवाहरूले भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएका छन्। सामाजिक सञ्जालमा उनीहरूले ‘नेपो बेबी’ ट्रेन्ड चलाउँदै परिवारको हैसियतको आधारमा अवसर र सुविधा उपभोग गर्ने प्रवृत्तिको विरोध गरेका छन्।