कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सरकारी वकिल कार्यालयको मागबमोजिम उक्त दुईवटा कसुर झिक्ने निर्णयलाई सदर गरेको हो।
अदालतको यस निर्णयसँगै रविसँगै आरोपी रहेका जिबी राई र अन्य प्रतिवादीहरूको हकमा पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटेको छ। तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले यी मुद्दाहरू फिर्ता लिन स्वीकृति दिएकी थिइन्। सोही परिपत्रका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले यी दुई कसुर हटाउन र सहकारी ठगीसम्बन्धी मूल कसुरलाई भने यथावत राखी कारबाही अघि बढाउन अदालतमा निवेदन दिएको थियो, जसलाई अदालतले अनुमति दिएको छ।