हप्ताको पहिलो दिन शेयर बजार उल्लेख्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १११.७० अङ्कले बढेर २,६२३.६२ विन्दुमा पुगेको छ।
अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम गर्ने व्यवस्था स्थगित भएपछि पहिलो दिनको कारोबारमा बजारमा उत्साह देखिएको हो। यसअघि जेन-जी आन्दोलनका कारण असोज २ गते नेप्से परिसूचक १६० अङ्कले घटेको थियो।
आज म्युचुअल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक हरित देखिएका छन्। विशेषगरी बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य लगानी समूहको शेयर उच्च अङ्कले बढेका छन्।
कारोबारमा १६ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेका छन्। तर बजार उकालो लागेका बेला सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर भने सबैभन्दा धेरै, करिब ७.५ प्रतिशतले घटेको छ।
कारोबार रकम पनि उल्लेख्य बढेको छ। गत बिहीवार ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएकोमा आज ३२९ कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ।
