‘नेपालमा सिंह नै छैन, सिंहदरबारको नाम बदलेर ‘अनामनगर दरबार’ राखे हुन्छ’ : हरि ढकाल

"हामीसँग सिंह नै छैन, सिंहदरबार नाम किन राख्ने?"

रास्वपा सांसद हरि ढकालको तर्क नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न प्रस्ताव पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ को नाम परिवर्तन गर्नुपर्ने अनौठो र नयाँ बहस अघि सारेका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत राखिएकोमा प्रश्न उठाएका हुन्।

नेपालमा प्राकृतिक रूपमा सिंह नपाइने उल्लेख गर्दै उनले 'सिंहदरबार' नामको सान्दर्भिकतामाथि तर्क गरे। सम्बोधनका क्रममा ढकालले भने, “परिवर्तनपछाडि दुनियाँ ठाउँ र एयरपोर्टहरूको नाम परिवर्तन भयो। तर, त्यो सिंहदरबार भन्ने चिज—न हामीसँग सिंह छ, हैन? हामीसँग सिंह छैन! त्यसको नाम परिवर्तन भएन। त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला।” सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको परम्परागत कार्यशैली, सोच र हाउभाउमा समेत व्यापक सुधारको आवश्यकता रहेको औँल्याए। प्रशासनिक केन्द्रको संरचना र भाषा अझै पनि पुरानै धङ्गको रहेको टिप्पणी गर्दै उनले त्यसलाई चिर्नुपर्नेमा जोड दिए।

देशको शासन सत्ता सञ्चालन हुने मुख्य ‘मुहान’ नै सिंहदरबार भएकाले त्यहाँ विद्यमान प्रशासनिक ढिलासुस्ती र सोचमा सुधार नभएसम्म परिवर्तनको आभास नहुने उनको तर्क छ। नाम र प्रवृत्ति दुवैमा परिवर्तन गरेर प्रशासनिक केन्द्रलाई सर्वसाधारणको पहुँचयोग्य र आधुनिक बनाउनुपर्ने ढकालले स्पष्ट पारेका छन्।