प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिई सरकारमा सहभागी हुने तयारीमा रहेका दलहरू व्यक्ति छनोटको आन्तरिक गृहकार्यमा जुटेका छन् । सत्तागठबन्धनभित्र कसले कति मन्त्रालय लिने भन्ने नटुंगिए पनि दलहरूले अनौपचारिक रूपमा पात्रको खोजी सुरु गरेका हुन् ।
एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न कार्यदल गठन गरेको छ । मंगलबार सचिवालय बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल बनाएको हो । सरकार विस्तारमा एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी गरेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले विश्वासको मत दिएर पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जानेबारे छलफल भएको बताए । सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्नेबारे पनि छलफल भएको बताए । बैठकमा सम्मानित नेता झलनाथ खनालले सरकारमा जानुपर्ने कारण, नीति तथा कार्यक्रममा स्पष्ट भएपछि मात्रै सहभागी हुँदा उपयुक्त हुने धारणा राखेका थिए ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको गठबन्धनको ठूलो दल कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । तर, उसले सरकामा जाँदा कुन मन्त्रालय लिने र कसलाई पठाउने भन्नेबारे औपचारिक छलफल भने गरेको छैन । यद्यपि, कांग्रेसको ५ चैतमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्दा योगदान र योग्यतालाई मुख्य आधार मान्ने साथै समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिइने मापदण्ड तय गरेको छ ।
पार्टीमा सैद्धान्तिक निर्णय गराएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग परामर्श जारी राखेका छन् । देउवाले पार्टीका विभिन्न समूहका नेताहरूसँग सरकारमा सहभागी हुने पात्रबारे छलफल गरेका छन् । तर, अर्थ वा गृहमध्ये कुन लिने भन्नेबारे देउवा अझै टुंगोमा पुगेका छैनन् ।
कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र औपचारिक रूपमा सरकारमा कुन–कुन मन्त्रालय लिने र को–को जाने भन्नेबारे छलफल नभएको बताँउछन् । ‘भागबन्डाको बिषय छलफल प्रवेश गरेका छैनौँ । पार्टी सभापतिले नेताहरूसँग छलफल गरिरहनुभएको छ,’ महामन्त्री थापाको भनाइ छ ।
महामन्त्री थापाले दलहरूबीच छलफल अगाडि बढेको र केही दिनमा टुंगो लाग्ने बताउँछन् । गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा गौशालामा आयोजित कार्यक्रममा प्रतिक्रिया दिँदै उनले गठबन्धन र दलहरूमा समानान्तर रूपमा छलफल हुने बताए । ‘धेरै दल भएकाले मिलाउन गाह्रो छ । दलहरूभित्र पनि आकांक्षी धेरै छन् । केही दिन त लाग्छ नै, तर लामो समयदेखि मन्त्रालय नेतृत्वविहीन भएकाले समयको दबाबलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने ।
सरकारको नेतृत्व गरेको माओवादी मन्त्रिपरिषद् विस्तारमा गृह वा अर्थमध्ये एक मन्त्रालय आफैँसँग राख्ने दाउमा छ । माओवादी उपमहासचिव गणेश साहले भने, ‘अर्थ या गृहमध्ये एक मन्त्रालय लिने विषय उठेको छ । गठबन्धनका अरू दलको विषय पनि टुंग्याउन बाँकी छ । गठबन्धनमा धेरै दल र दाबी भएकाले टुंग्याउन सहज छैन । तर, पार्टीमा औपचारिक रूपमा छलफल भएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि सरकारमा सहभागी हुने विषयमा अनौपचारिक छलफल जारी छ । स्रोतका अनुसार यो पार्टीमा सरकारमा सहभागी हुनुपर्ने मत बलियो छ । तर, अहिले वा चुनावपछि र कुन–कुन मन्त्रालय लिएर जाने भन्ने टुंगो छैन । छलफलका लागि मंगलबार बैठक बस्ने भनिए पनि बस्न सकेन ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ पार्टीमा छलफलपछि सबै विषय टुंगो लाग्ने बताए । उनी कार्य–व्यस्तताका कारण मंगलबार बैठक बस्न नसकेको र छिट्टै बैठक बसेर टुंगो लाग्ने बताँउछन् । ‘हामीले पार्टीमा छलफल गरेका छैनौँ छलफलपछि मात्रै सरकारमा जाने–नजाने र गएको अवस्थामा कहिले र को–को जाने भन्ने सबै विषयको टुंगो लगाउँछौँ,’ उनले भने । सरकारलाई समर्थन दिएको जनमोर्र्चाले विश्वासको मत दिए पनि सरकारमा सहभागी हुनेमा छैन ।