अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको कार्यक्रमस्थलको निषेधित हवाई क्षेत्र (नो-फ्लाई जोन) मा एउटा यात्रुवाहक विमान प्रवेश गरेपछि सुरक्षा सतर्कता उच्च पारिएको छ। मंगलबार ओहायो राज्यको जेनेभामा आयोजित ‘प्याट्रियट गेम्स’ खेलकुद प्रतियोगितामा ट्रम्प सहभागी भइरहेका बेला उक्त घटना भएको हो। राष्ट्रपति वा उच्चपदस्थ अधिकारीहरूको सुरक्षाका लागि भ्रमणस्थल आसपास अस्थायी रूपमा हवाई उडान प्रतिबन्ध लगाइन्छ।
तर, प्रतिबन्धका बाबजुद यात्रुवाहक विमान निषेधित क्षेत्रमा छिरेपछि उत्तर अमेरिकी एरोस्पेस डिफेन्स कमान्ड (नोरड) ले तत्कालै अमेरिकी सेनाका लडाकु विमानहरू परिचालन गरेको थियो। सुरुमा लडाकु विमानहरूले विमानका पाइलटलाई प्रतिबन्धित क्षेत्रबाट बाहिरिन सङ्केत गर्न 'फ्लेयर' प्रहार गरेका थिए। त्यसपछि जेट लडाकु विमानहरूले उक्त यात्रुवाहक जहाजलाई सुरक्षित रूपमा नो-फ्लाई जोनबाट बाहिर निकालेका थिए।
अमेरिकी अखबार द न्युयोर्क टाइम्स का अनुसार फ्लेयर नै प्रहार गर्नुपरेका कारण यस घटनालाई निक्कै गम्भीर रूपमा हेरिएको छ। एक साताभित्र ट्रम्पसँग सम्बन्धित प्रतिबन्धित हवाई क्षेत्रमा विमान प्रवेश गरेको यो कम्तीमा चौथो घटना हो। यसअघि न्यु जर्सीस्थित ट्रम्पको गोल्फ कोर्समाथि पनि दुईपटक गरी ६ वटा विमान प्रतिबन्धित क्षेत्रमा छिरेका थिए, जसलाई दुर्घटनावश वा भूलवश भएको मानिएको थियो। यसपटक ओहायोमा भएको घटना जानाजानी गरिएको थियो वा भुलवश भन्नेबारे नोरडले अनुसन्धान भइरहेको जनाएको छ। बारम्बार यस्ता घटना दोहोरिएपछि नोरडले सबै पाइलटहरूलाई संघीय सरकारले जारी गर्ने हवाई क्षेत्र बन्दसम्बन्धी सूचना (NOTAMs) अनिवार्य र नियमित रूपमा जाँच गर्न पुनः स्मरण गराएको छ।