राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आफू सहभागी नहुने स्पष्ट गरेकी छन्।
शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा सहभागी भएपछि उनको नाम क्याबिनेटमा पर्न सक्ने चर्चा चलेको थियो। तर सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गर्दै उनले त्यस्तो अड्कलबाजीलाई असत्य ठहराइन्।
‘भ्रममा कोही पनि नपरिदिनुहोला। म क्याबिनेटमा जान लाछैन,’ सुमनाले स्पष्ट भनिन्।
उनले हालैको आन्दोलनमा प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली दिँदै भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन। उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा हामीले कुर्सी होइन संस्कार परिवर्तनलाई प्राथमिकता दिनुपर्छ।’
सुमनाले युवाहरुको बलिदानलाई सत्ता हस्तान्तरण नभई संस्कार रूपान्तरणको लागि भएको भन्दै त्यसमा सबैको ध्यान जानुपर्ने बताइन्। ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं, नाम होइन काममा केन्द्रित होऊँ,’ उनले भनिन्।
कार्की नेतृत्वको नयाँ सरकारलाई शुभकामना दिँदै सुमनाले आफू पछाडि बसेर परिवर्तनलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
