काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। यो सिजन प्लेअफमा स्थान बनाउने काठमान्डु दोस्रो टोली बनेको छ। यस जितसँगै काठमान्डुको शीर्ष–२ मा रहने सम्भावना पनि मजबुत बनेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो। काठमान्डुका ओपनर बेन चाल्र्सवर्थले ६४ रनको उत्कृष्ट पारी खेले भने भिम शार्कीले ५५ रनको महत्वपूर्ण योगदान दिए।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा १० विकेट गुमाउँदै १५२ रनमै समेटियो। पोखराका ऋषि धवनले ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
काठमान्डुका बलर शाहब आलम खेलको मुख्य आकर्षण बने। उनले शानदार बलिङ गर्दै ६ विकेट लिए, जसमा २०औँ ओभरका पहिलो तीन बलमै लगातार विकेट लिएर ह्याट्रिक पनि समावेश थियो। यो सिजनमा एकै खेलमा ६ विकेट लिने उनी पहिलो खेलाडी बने।
पोखराका लागि धनञ्जय लक्षनले ४ विकेट लिए भने कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले १–१ विकेट हात पारे।
जितसँगै काठमान्डु गोर्खाजले सात खेलमा ५ जितसहित १० अंक बटुलेर दोस्रो स्थानमा उक्लिएको छ। चौथो हार बेहोरेको पोखरा एभेन्जर्स ४ अंकसहित प्लेअफ दौडबाट टाढिँदै गएको छ।
