मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रधानमन्त्री कार्की : भयरहित वातावरणमा फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त

प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारीमा सरकार पूर्ण रूपमा दत्तचित्त भएर लागेको बताएकी छिन् ।

बुधबार काठमाडौंको बसन्तपुरमा नेपाल संवत् अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै देशभर भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

उहाँले भनिन्, “विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ । परिवर्तनकाबाहक जेन–जी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौं ।”

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई प्राथमिकता दिएको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको होइन भन्ने स्पष्ट पारिन् । उहाँका शब्दमा, “निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौं भन्ने होइन । संविधानको अधीनमा रही जेन–जी आन्दोलनले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्ने दायित्व पनि हामीमाथि छ । यसमा परिणाममुखी ढंगले राज्यका संयन्त्रहरूले काम गरिरहेका छन् ।”

प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय जिम्मेवारी पूरा गर्न सबै पक्षलाई एकजुट हुन पनि अपिल गर्नुभयो ।