यातायात विभागको प्रणालीमा समस्या आएका कारण लाइसेन्स छपाइ प्रभावित भएकाे छ। विभागबाट आवश्यक डाटा लिन समस्या भएपछि केही दिन ढिलाइ भएको र बुधबार मात्र थप डाटा प्राप्त भएको मुद्रण केन्द्रका प्रमुख ढुंगानाले जानकारी दिए।
उनका अनुसार विभागको सिस्टम डाउन भएकाले पहिलो चरणमा डाटा संकलनमा कठिनाइ आएको थियो।
“बुधबारदेखि समस्या समाधान भयो र डाटा प्राप्त भइसकेको छ। शुक्रबारबाट पुनः छपाइ सुरु हुन्छ,” ढुंगानाले भने। उनका अनुसार पहिलो चरणमा देखिएको समस्या दोहोरिने छैन र दोस्रो चरणदेखि नियमित छपाइ अघि बढ्नेछ।
यसैबीच, मुद्रण केन्द्रले क्वालिटी परीक्षणका लागि पाँच सय स्मार्ट लाइसेन्स छापेर केही नमुना काठमाडौं विश्वविद्यालय (KU) को प्रयोगशालामा पठाइसके पनि परीक्षण औपचारिक रूपमा सुरु हुन सकेको छैन।
विश्वविद्यालय स्रोतका अनुसार २४ कात्तिकमा इमेलमार्फत एउटा पत्र आए पनि परीक्षणका लागि आवश्यक आधिकारिक हार्डकपी पत्र प्राप्त नभएको कारण परीक्षण प्रक्रिया रोकिएको छ।
“जनशक्ति, मेसिन र ल्याब सबै तयार छन्। तर आधिकारिक पत्र नआएकाले परीक्षण सुरु गरिएको छैन,” स्रोतले भन्यो।
प्रयोगशालामा लाइसेन्स कार्ड तन्किने–नतन्किने, भाँचिने–नभाँचिने, मेटिने–नमेटिने, तापक्रम थेग्ने क्षमता, टिकाउपना लगायतका मापदण्डमा परीक्षण गरिनेछ।
लाइसेन्स छाप्ने विषयमा अघिल्लो सरकारले २०८२ वैशाख ३ गते नै काठमाडौं विश्वविद्यालयलाई सहजीकरणका लागि पत्र पठाएको थियो। यद्यपि हालै २४ कात्तिकमा इमेलमार्फत आएको पत्रलाई विश्वविद्यालयले आधिकारिकता नदिएको जनाएको छ।
नयाँ छापिने लाइसेन्स भने पहिलेजस्तो चिप (सिमकार्ड) होइन, क्यूआर कोड प्रणालीमा आधारित हुने केन्द्रले जनाएको छ। नयाँ कार्ड १० वर्षका लागि ग्यारेन्टीसहित आउने छ। नवीकरण अवधि पाँच वर्ष थप गरी १५ वर्ष प्रस्ताव गरिए पनि हालका लागि १० वर्षमा सीमित गरिएको छ।