मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

काग तिहार आज श्रद्धा र भक्तिसाथ मनाइँदै, यमराजका दूतका रूपमा कागलाई दही–भात अर्पण

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज (आइतबार) बिहान श्रद्धा र भक्तिसाथ मनाइँदै छ। आजको दिनलाई यमराजका दूतका रूपमा कागलाई सम्मान दिने विशेष अवसरका रूपमा मनाइन्छ।

यस दिन बिहानै कागलाई पूजा आराधनासहित दही–भात र मीठा खानेकुरा अर्पण गरी खुसी पार्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार, कागलाई दही–भात खुवाएमा ऊ यमराजसमक्ष राम्रो सन्देश लगिदिने मान्यता छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, शास्त्रसम्मत रूपमा सूर्योदयकालमा त्रयोदशी परेको कारण आज आइतबार काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना भइरहेको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिँदैछ, जहाँ कागको ठूलो मूर्ति बनाइएको छ।

यमयातनाबाट मुक्तिका कामना स्वरूप ‘यम दीपदान’ गर्ने परम्परा शनिबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन विधिअनुसार दीप दक्षिण फर्काएर बालिन्छ, जसले यमयातनाबाट मुक्ति दिलाउने धार्मिक विश्वास रहेको छ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा त्रयोदशी परेपछि यमपञ्चक पर्व शनिबार बेलुकादेखि नै सुरु भएको हो। यमपञ्चकको पहिलो दिन काग तिहारपछि क्रमशः कुकुर तिहार, लक्ष्मी पूजाको तिहार, गाई तिहार र भाइटीका मनाइनेछ।

त्यस्तै, लक्ष्मी स्थिर राख्ने शुभ दिन ‘धनतेरस’ पनि शनिबार नै मनाइएको थियो। यस दिन गरगहना वा तामाका भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थायी रूपमा वास गर्छिन् भन्ने धार्मिक मान्यता रहिआएको छ।