मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १ अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिभन्दा ७.७४ प्रतिशतले बढी भएको कार्यालयले जनाएको छ।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार, गत वर्ष साउन महिनामा १ अर्ब १७ करोड ४० लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्ष आयात ४.९० प्रतिशत र निर्यात १४.६८ प्रतिशतले घटेपनि राजस्व रकम आयाततर्फ ६.८७ प्रतिशत र निर्याततर्फ ८०.१४ प्रतिशतले वृद्धि भएको छ।
काँकरभिट्टा नाकाबाट मुख्यतया पेट्रोलियम पदार्थ, गाडी तथा गाडीका पार्टपुर्जा, खनिज उत्पादन, जुत्ता–चप्पल, सौन्दर्य प्रशोधन सामग्री आयात हुने गरेको छ। त्यस्तै चिया, अलैंची, अम्रिसो, अदुवा जस्ता स्थानीय उत्पादन यस नाकाबाट निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।
