व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग रिसाएका छन् । यसअघि फागुन १ गते झापामा पूर्वराजपरिवारका सदस्यलाई उतारेर राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ महाअभियानको घोषणा गरेका उनी पूर्वराजासँग रिसाएका हुन् । उनले शनिबार बानेश्वरमा भएको प्रदर्शनमा पूर्वराजा नआएको प्रति आक्रोश पोख्दै ‘राजतन्त्र–जिन्दावाद’ नभन्न सहभागीलाई आग्रह नै गरे ।
यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे। उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राखे। प्रसाईंले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक बताए।
यसैबीच संसदको पाँचौ ठूलो शक्ति तथा राजावादी पार्टी राप्रपाले दुर्गा प्रसाईँले पूर्वराजालाई विवादमा तान्न खोजेको बताएको छ । सो पार्टीका उपाध्यक्ष उद्धव पौडेलले प्रसाईँप्रति लक्षित गर्दै पूर्वराजा सडकमा नआउने बताए । उनले राजा सबैको साझा उनले दाबी गर्दै भनेका छन्–राजालाई कुनै आन्दोलनमा सहभागी गराउन खोज्नु पागलपन हो । हामी राप्रपाले बडो संयमतापूर्वक जोगाउँदै, अघि बढाउँदै ल्याएको एजेन्डा धरापमा पार्ने गल्ती कसैले नगरुन् । राप्रपा बाहेक विगतमा खुलेका ८० वटा राजसंस्थावादी संघसंस्था किन अहिले एक्लै उभिन नसक्ने अवस्थामा छन् ? यसको समीक्षा नगरी ८० मा १ थपिएर ८१ होला तर आन्दोलनको आधारभूमि तयार हुन सक्दैन ।
उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर संसदको पाँचौ र एकमात्र शक्ति राप्रपालाई उपेक्षा गरेर खोजिने विकल्पबाट कुनै समाधान नकिस्ने पनि दाबी गरेका छन् । उनले भनेका छन्, ‘केही मान्छे केही समय अलमलमा पर्न र पार्न त सकिएला तर वास्तविक लक्ष्य भेटिदैन । सबैले गम्भीरतापूर्वक सोचौं ।’
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन्।
००००
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकिर थियो ।
स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गरे।
००००
प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरू भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य भएका छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ ।
००००
पोखरामा शनिबार दिउँसो आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
डुङ्गा दुर्घटनामा परी घाइते भएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
००००
नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए।
उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी माधव नेपालका कान्छा भाइ हुन् ।
००००
उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् । नेपाल मगर सङ्घले आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन्।
भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताए।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायत सत्तारुढ गठबन्धन दलका भ्रातृ संगठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।