काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फ्यू र निषेधाज्ञा खुकुलो पारिए पनि सार्वजनिक गाडी नचल्दा यात्रुहरूलाई सास्ती भएको छ ।
शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फ्यूलाई केही खुकुलो बनाएर निरन्तरता दिएको छ । अत्यावश्यक कामका लागि बिहान र बेलुकी केही घण्टाको लागि आवतजावतको अनुमति दिइएपछि बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । तर सार्वजनिक बस, ट्याक्सी र लामो दूरीका गाडी नचल्दा साधन नहुनेहरू पैदलै हिँड्न बाध्य भएका छन् ।
विशेषतः हवाई यात्रुहरू बढी प्रभावित भएका छन् । बुधबार बेलुकादेखि अन्तर्राष्ट्रिय र बिहीबार बिहानदेखि आन्तरिक उडान सञ्चालनमा आइसके पनि सार्वजनिक यातायात नचल्दा उनीहरू टिकट देखाएर विमानस्थलसम्म पुग्न पैदलै हिँड्नुपरेको छ ।
यातायात व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म गाडी चलाउन नसकिने बताएका छन् । यसैबीच, काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक कामका लागि बिहान ५ घण्टा र बेलुकी २ घण्टा समय निर्धारण गरिएको छ ।
आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ । अत्यावश्यक कामका लागि भने बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिनेछ ।
सैनिक स्रोतका अनुसार, यस अवधिमा अत्यावश्यक सामग्री किनमेल, धार्मिक–सांस्कृतिक परम्परा, कर्मचारीहरूको कार्यस्थलमा जाने–आउनेलगायत काम मात्र गर्न पाइनेछ भने जुलुस, धर्ना वा प्रदर्शन गर्न पूर्णतः निषेध गरिएको छ ।
