मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज (आइतबार) दिउँसो साढे २ बजे मन्त्रीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई मन्त्रीका रूपमा सिफारिस गर्दै नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।
यसअघि गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको थियो, तर अन्तिम समयमा जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालय तोकिएको स्रोतले जनाएको छ ।
डा. सुधा शर्मा गौतम
स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. शर्मा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ नामक पुस्तक लेखेकी छन् । हालैसम्म सम्भावित स्वास्थ्य मन्त्रीका रूपमा अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा रहेको थियो । तर उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रधानमन्त्री कार्कीले डा. शर्मालाई जिम्मेवारी दिन निर्णय गरेकी हुन् ।
गणपतिलाल श्रेष्ठ
सम्पदा संरक्षण अभियन्ता श्रेष्ठले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रलगायतका पुरातात्त्विक सम्पदाको पुनर्निर्माणमा सक्रिय भूमिका खेलेका छन् । उनले नेपालका सम्पदाबारे अक्सफोर्ड विश्वविद्यालयमा समेत प्रस्तुति दिएका थिए । श्रेष्ठ “अनलाइनखबरको ४० वर्ष मुनिका ४० प्रभावशाली युवाहरू” मध्ये एक हुन् ।
खगेन्द्र सुनार
दलित अधिकारकर्मी सुनार लामो समयदेखि दलित समुदायको हकहितका लागि संघर्षरत छन् । उनले संवैधानिक पद तथा राजनीतिक नियुक्तिमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा नेल ठोकी प्रदर्शन गरेका थिए । रुकुम पश्चिममा २०७७ जेठ ११ गते नवराज विकलगायत ६ जनाको हत्या भएपछि उनले सो मुद्दाको न्यायका लागि जिल्ला प्रशासन कार्यालय र अदालत अगाडि १० दिनसम्म धर्ना दिएका थिए ।
बब्लु गुप्ता
सामाजिक अभियन्ता गुप्ताले कोभिड महामारीका बेला निःशुल्क खाना अभियान सञ्चालन गरेका थिए । त्यसअघि उनले विपन्न परिवारका लागि कपडा बैंक अभियान सुरु गरेका थिए । उनी “हन्ड्रेड ग्रुप” मार्फत विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका छन् । रक्तदान तथा रक्त संकलन अभियानमा पनि सक्रिय गुप्ता “अनलाइनखबरको ४० वर्ष मुनिका ४० प्रभावशाली युवाहरू” मध्ये एक हुन् ।
राष्ट्रपति कार्यालयमा तयारी तीव्र पारिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरूको समावेशले सरकारको कार्यदक्षता र जनसेवामा सुधार आउने विश्वास व्यक्त गरेकी छन् ।