गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा ४५ घर डुबानमा परेका छन्। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीहरूमा आएको बाढी बस्तीमा पस्दा घरहरू डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्। यस घटनामा ७० जना विस्थापित भएका छन् र उनीहरूलाई नजिकैको विद्यालयमा सुरक्षित राखिएको छ।
त्यस्तै, दोधारा चाँदनी–३ को पटराखल्लामा १५ घर र भीमदत्त–११ भुजेलामा ५ घर डुबानमा परेका छन्। पटराखल्लाका ५५ जना स्थानीयलाई सरसामान तथा चौपायासहित जमुना आधारभूत विद्यालयमा अस्थायी बसोबास गराइएको प्रहरीले जनाएको छ।
निरन्तर वर्षासँगै महाकाली नदीको जलस्तर उच्च बनेको छ। भारतीय पक्षको शारदा ब्यारेजमा पानीको सतह बढेर १ लाख ४० हजार २ सय ५० क्युसेक पुगेपछि चारपाङ्ग्रे र तीनपाङ्ग्रे गाडी आवागमनमा रोक लगाइएको डीएसपी बोहराले जानकारी दिए।
भारतीय पक्षले नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै आवागमन रोक्ने प्रावधानअनुसार आवागमन बन्द गरिएको हो।
