शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौँडा–६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा पुरानो प्रश्नपत्र वितरण भएपछि रद्द गरिएको छ। केन्द्राध्यक्ष र बाह्य सहायकको लापरबाहीका कारण गलत प्रश्नपत्र परीक्षार्थीलाई बाँडिएपछि सो दिनका सबै परीक्षा रद्द गरिएको सीटीईभीटीले जनाएको छ।
परीक्षार्थीहरूले तोकिएको समय पूरा गरी केन्द्रबाट बाहिरिसकेपछि मात्र परीक्षा रद्द भएको जानकारी पाएपछि उनीहरू आक्रोशित बने।
“परीक्षा सकिएर बाहिर निस्किसकेपछि मात्र रद्द भएको थाहा पायौँ। एउटै परीक्षा कति पटक दिने ?” एक विद्यार्थीले प्रतिक्रिया दिए।
परीक्षालाई मान्यता दिनुपर्ने माग राख्दै विद्यार्थीहरूले शिक्षालय परिसरमै नाराबाजी र विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले परीक्षा सूचना ढिलो जारी गरिएको तथा व्यवस्थापन कमजोर रहेको आरोपसमेत लगाएका छन्।
घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शङ्कर खतिवडामाथि छानबिन सुरु गरिएको सीटीईभीटी हेटौँडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिए।
यस विषयमा छलफल गर्न दिउँसो ३ बजे जिल्ला परीक्षा समन्वय समितिको बैठक बस्ने उनले बताए।
पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापीअन्तर्गत
बीएबिएल साइन्स,
एचएको इनभाइरमेन्टल हेल्थ,
प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री,
प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर
र भेटनरी
लगायतका विभिन्न विषयका परीक्षा रद्द गरिएको छ। यी विषयमा ७९ जना परीक्षार्थी सहभागी थिए।
यसअघि जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेको कारण सीटीईभीटीले आइतबारबाट फेरि परीक्षा सञ्चालन गर्न लागेको थियो। तर सुरुआतकै दिन पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा फेरि अवरुद्ध बनेको हो।