सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज ‘सुपर स्याटर्डे’ का दुई रोचक खेल

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज ‘सुपर स्याटर्डे’ का दुई महत्वपूर्ण खेल हुँदै छन्।

पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजेबाट खेल सुरु हुनेछ।
कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएकाले आज पहिलो जितको खोजीमा हुनेछ। अर्कोतर्फ, पहिलो खेलमै चितवनलाई पराजित गरेको लुम्बिनी लायन्स लगातार दोस्रो जितका लागि मैदान उत्रनेछ।
गत संस्करणमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको स्मरणीय प्रदर्शन दोहो¥याउने लक्ष्य लिएको छ।

‘सुपर स्याटर्डे’ को दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्स भिड्नेछन्। खेल अपरान्ह ३:३० बजेबाट सुरु हुनेछ।
काठमाडौँले यसअघि दुई खेल खेलेको छ_जनकपुर बोल्ट्समाथि जित निकाले पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
विराटनगर किङ्सको भने आज दोस्रो खेल हो, पहिलो खेलमा उसले पोखरा एभेञ्जर्समाथि सहज जित हात पारेको थियो।
गत संस्करणमा काठमाडौँले विराटनगरविरुद्ध १ विकेटको रोमाञ्चक जित निकालेको इतिहास रहेको छ।

अंक तालिकामा सुदूरपश्चिम रोयल्स २ खेलमा २ जितसहित ४ अंक बटुलेर शीर्ष स्थानमा छ। समान १–१ जितसँग विराटनगर, लुम्बिनी, चितवन र काठमाडौँ क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन्।

आजका दुवै खेलले अंक तालिकाको प्रतिस्पर्धा झनै रोचक हुने अपेक्षा गरिएको छ।