शक्तिशाली आँधी ‘रागासा’ ले ताइवानमा ठूलो जनधनको क्षति पुर्याएको छ। आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको र १२० जनाभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
आँधीसँगै आएको मुसलधारे वर्षा र बाढीका कारण पूर्वी हुवालियनको गुआङ्फु शहरस्थित एउटा ताल फुट्दा ठूलो क्षति भएको हो।
‘रागासा’ आँधी अहिले ताइवानलाई प्रभावित पार्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा उच्च सतर्कता अपनाइएको छ। हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ।
यसैबीच, चीनको ग्वाङदोङ प्रान्तबाट ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मौसमविद्हरूका अनुसार आँधी आजै ग्वाङदोङमा प्रवेश गर्ने सम्भावना छ।
यो आँधीले यसअघि फिलिपिन्समा पनि ठूलो प्रभाव पारेको थियो।
