निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारीका विषयमा आज राजनीतिक दलहरूसँग सर्वदलीय छलफल गरेको छ। प्रतिनिधिसभा चुनाव घोषणा भएपछि आयोगले गरेको यो पहिलो औपचारिक छलफल हो।
आयोगले छलफलका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरू र गएको स्थानीय तहको निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजयी भएका दलहरूलाई पत्राचार गरी सहभागी हुन आह्वान गरेको थियो।
आजको छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, रास्वपाका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत विभिन्न दलका प्रतिनिधिहरू सहभागी भएको आयोगले जनाएको छ।
छलफलका क्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन अब निकट आइसकेको भन्दै सबै दलहरूलाई चुनावी वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि, पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन गरिएको थियो। त्यसपछि फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति घोषणा गरिएको हो।
